राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

इनेप्लिज २०७४ भदौ ८ गते १५:५९ मा प्रकाशित

काठमाडौँ, ८ भदौ । हरितालिका तीज पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभयो ।

दर्शनपछि उहाँले मन्दिरका मूल भट्ट गणेश भट्टबाट टीकाप्रसाद ग्रहण गर्नु भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखाका प्रमुख भोला सिटौलाले बताउनुभयो ।

बेलुकी ८ बजेसम्म छ लाखभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ ।

तीजका अवसरमा आज राति ९ बजेसम्म भक्तजनलाई दर्शन गर्न दिइने छ ।

पशुपति प्रवेशका लागि लागेको लामको सिसी टिभीका माध्यमबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएपछि भक्तजनलाई खाली भएको लाममा गएर बस्न सहज भएको थियो । जसका कारण यसपटक सडक अवरुद्ध नभएको उहाँले बताउनुभयो ।

यो व्यवस्था गर्दा भक्तजनले दुई घन्टामा दर्शन गर्न पाएका थिए । तीजका अवसरमा आज उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरिका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड लागेको थियो ।

भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत गरी शिव–पार्वतीको उपासना गरे विवाहित महिलाले अटल सौभाग्य एवं अविवाहितले गुण सम्पन्न वर पाउने धार्मिक विश्वास छ । रासस

प्रतिक्रिया