वाग्मती सफाइ कार्यक्रम

इनेप्लिज २०७४ भदौ ३ गते ८:२८ मा प्रकाशित

काठमाडौँ, ३ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौँं उपत्यकामा बढ्दो जनसंख्याले निम्त्याउने फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफाइ हुन नसक्ने बताउनुभएको छ ।

वाग्मती सफाइ महाअभियानको २२१ औँं हप्ता पुगेको अवसरमा आज यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा उहाँले काठमाडौंँ उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित नभएसम्म नदी किनारका छेउछाउ सफा गरेर मात्र नपुग्ने बताउनुभयो ।

प्रत्येक घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न नसकिएसम्म वाग्मती नदी सफा, स्वच्छ र नुहाउन मिल्ने बन्न नसक्ने मन्त्री शाहीको भनाइ थियो ।
सफाइ अभियानको नेतृत्व गरेका पूर्व मुख्य सचिव लीलामणि पौडेलको प्रशंसा गर्दै मन्त्री शाहीले भन्नुभयो, “सरकारका पूर्व मुख्य सचिवले वाग्मती सफाइ अभियानको नेतृत्व गर्नुभएको छ, यसले वाग्मती नदी सफाइ हुनेमा आशा गर्न सकिन्छ, उहाँ हरेक कामलाई सफल गर्ने व्यक्ति हो ।”
आजको अभियानमा समेत पूर्व मुख्य सचिव लीलामणि पौडेल, संस्कृतिविद् सत्यमोहन जोशीलगायतका व्यक्तित्व सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया