सिएरा लियोनमा पहिरोमा परी तीन सयभन्दा बढी व्यक्तिको मृत्यु, कैयौँ बेपत्ता

इनेप्लिज २०७४ साउन ३१ गते १३:१४ मा प्रकाशित

फ्रिटाउन (सिअरालिअन), ३१ साउन । सिएरा लिओनमा व्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्युभएको छ ।

एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाए अनुसार सोमबार साँझ समाचार तयार पार्दासम्म ३१२ मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पु-याइएको छ । सिएरा लियोनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् ।

व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको यहाँका उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाउनुभयो । पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको छ, फोहले बताउनुभयो । घटनामा थुप्रै अन्य मानिस परेको हुनसक्ने जनाइएको छ ।

पहिरोबाट ३०० भन्दा बढी लासहरू उद्धार गरी कोन्नाट अस्पतालको मूर्दा घरमा पु¥याइएको अस्पताल स्रोतले जनाएको छ । उद्धारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सिएरा लियोनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ ।घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका वेला घरभित्र पुरिएका थिए । – एपी

 

प्रतिक्रिया