भारतको कारण खरबौं संपत्तिको नोक्सानः हिन्दु ॐकार

इनेप्लिज २०७४ साउन ३१ गते ७:५० मा प्रकाशित

साउन ३१ । भारी वर्षाद्को कारण देशका विभिन्न स्थानहरूमा भएको जनधनको क्षतिप्रति हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाले चिन्ता व्यक्त गर्दै यो आपतको घडिमा सबैले आआफ्नो स्थानबाट सहयोगी हात अगाडि बढाउन आव्हान गरेको छ ।
हिन्दु ॐकार भोलन्टियर्सको तर्फबाट अध्यक्ष पदमराज पाण्डेले अमेरिकाको भ्रमणमा रहँदै गर्दा उहीँबाट एक प्रेस विज्ञप्ति जारी गरी सो आव्हान गर्नु भएको हो ।

विज्ञप्तिमा अधिक्तम डुबान तथा खरबौं संपत्तिको नोक्सानीको कारण नेपाल हुँदै भारततर्फ बग्ने नदीमा भारतले बाँधेको बाँधको ढोका नखोलिदिँदा भएको र जति राजनीतिक तथा व्यवस्था परिवर्तन भएपनि नेपालप्रति बाहिरबाट हुने हेपाहा गतिविधिको बारेमा राज्य, राजनीतिक क्षेत्र मौन रहनुले नेपाल र नेपालीले यो दुर्दशा भोग्न परिरहेको बताइएको छ ।

यस प्रकारको समस्या भविष्यमा कुनै पनि हालतमा आउन नदिन के गर्नुपर्छ ? त्यतातर्फ सोँच्न, आवश्यक तयारी गर्न र यस्तो समस्याको जड्लाई सधैंको लागि निवारण गर्न सरकारसँग हिन्दु ॐकार भोलन्टियर्स जोडदार रूपमा माग गर्दछ, विज्ञप्तिमा भनिएको छ । साथै यसको लागि सरकारलाई जनदबाब दिन आम नागरिकसँग आव्हान पनि गरिएको छ । राष्ट्रिय संकटको यो घडिमा सबैले मानवीय ढङ्गबाट आ–आफ्नो स्थानबाट सहयोगी बनेर सकेसम्मको सहयोग गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिको अन्तिममा बाढीपहिरोमा परेर मृत्युवरण गरेकाप्रति भावपूर्ण श्रद्धाञ्जली, मृतकका आफन्तजनमा समवेदना प्रकट गरिएको छ । वेपत्ता नागरिकहरूको खोजी कार्यमा अविलम्ब तीव्रता अप्नाउन सरकारसँग जोडदार माग गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । प्रभावित सबैप्रति संयममतापूर्वक थप नोक्सानी हुन नदिन अप्नाउन पर्ने उपाय अवलम्बन गर्न र राहत सङ्कलन एवं वितरणमा पारदर्शीता अप्नाई पीडितहरूलाई शीघ्रातिशीघ्र राहत दिलाउन सबैले उपयुक्त भूमिका निर्वाह गर्दै सहयोगी हात अगाडि बढाउन आव्हान गरिएको व्यहोरा उल्लेख छ ।

 

प्रतिक्रिया