एकै परिवारका चारको हत्या भएको देखिँदैन – प्रहरी

इनेप्लिज २०७४ साउन ३० गते ११:५९ मा प्रकाशित

बनेपा, ३० साउन । काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेला परेका एकै परिवारका चार जनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।

काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने बताउनुभयो ।

शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकै पटक खाएको हो वा हैन ? भन्ने विस्तृत विवरण प्राप्त हुनेछ ।

“अहिलेसम्मको प्रहरी अनुसन्धानले हत्या भएको देखिँदैन” – उहाँले भन्नुभयो । बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेला परेका थिए । तर स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।

मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन् । शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको शिशी प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्यूरोले गर्दैछ ।

प्रतिक्रिया