सबैको सक्रिय सहभागितामा चुनाव हुन्छ : नेता राई

इनेप्लिज २०७४ साउन २६ गते ११:४८ मा प्रकाशित

गौशाला, २६ साउन । संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले प्रदेश नं २ मा सबैको सक्रिय सहभागितामा स्थानीय तहको तेस्रो चरणको चुनाव हुने बताउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि महोत्तरीको जलेश्वरमा आउनुभएका नेता राईले पत्रकार भेटघाटका क्रममा आज प्रदेश नं २मा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रका साथै मधेशवादी दलसहितको सक्रिय सहभागितामा चुनाव हुनमा जोड दिनुभएको हो । उहाँले मधेशवादी दल संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकका साथै राष्ट्रिय जनता पार्टी नेपालसहितको सहभागितामा चुनाव हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

नेता राईले तथा मधेश र मधेशीको हक अधिकारकै लागि भए पनि राजपा चुनावबाट बाहिर नरहने चर्चा गर्नुभयो ।
उहाँले राजपाको अधिकतम माग पूरा गर्न सरकार तयार भएको र राजपाले आफूहरुसँग पनि चुनावमा जाने पक्का भएको भन्दै तेस्रो चरणको चुनावमा राजपा पनि सहभागी हुनेमा कुनै दुविधा नराख्न सुझाव दिनुभयो ।

पत्रकारहरुको एक प्रश्नको जवाफमा नेता राईले आफ्नो पार्टीले दोस्रो चरणको चुनावमा व्यापक प्रचारप्रसार गर्न नसक्दा अपेक्षा गरेको जति नतिजा नआएको बताउँदै तेस्रो चरणको चुनावका लागि आफ्ना कार्यकर्तालाई सक्रिय भएर चुनावी तयारीमा लाग्न सल्लाह दिनुभयो । उहाँले यसपटकको चुनावमा आफ्नो पार्टीले अधिकतम स्थान जित्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया