सामुदायिक वनमा वृक्षारोपण तथा झाडी सफाई

इनेप्लिज २०७४ साउन १२ गते ८:४९ मा प्रकाशित

रत्ननगर १२ श्रावण ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपण तथा झाडी सफाई कार्य थालिएको छ ।

जिल्ला वन कार्यालय चितवन र सामुदायिक वनको संयुक्त सहयोगमा वनको गत वर्ष वृक्षारोपण गरिएको क्षेत्रमा झाडी सफाई गरिएको छ । झाडी सफाईका क्रममा बिरुवा नभएको ठाउँमा पुनः वृक्षारोपण समेत गरिएको सामुदायिक वनका अध्यक्ष केशव लामाले जानकारी दिए । विगत एक हप्तादेखि लगातार रुपमा कामदारहरु लगाई झाडी फाड्ने, बिरुवा गोड्ने र वृक्षारोपण गर्ने कार्य भइरहेको समेत लामाले बताए ।

सामुदायिक वनको ३४ हेक्टर वन क्षेत्रमा गत वर्ष वृक्षारोपण गरिएको थियो । सो क्षेत्रमा अहिले झाडी फाड्ने, बिरुवा गोड्ने र रोप्ने काम भइरहेको छ । त्यस्तै वन क्षेत्रको २० हेक्टर खाली ठाउँमा पनि यस वर्ष वृक्षारोपण गरिने छ । उदयपुर सामुदायिक वनले वृक्षारोपण गरेका र वृक्षारोपण गर्ने क्षेत्रमा यस अगाडि नै काँडे तार लगाई सकेको सामुदायिक वनका अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया