मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०५:०८
वासिङटन डिसी 19:23

एनआरएन अमेरिका निर्वाचन प्रसंग अध्यक्ष घलेको पत्रले बाटो खोल्यो: के भन्छन् अभियन्ताहरु

इनेप्लिज २०७४ साउन ११ गते १४:३२ मा प्रकाशित

न्यूयोर्क,अमेरिका, जुलाई २६ | गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचन राष्ट्रिय समितिको विधान, स्थानीय कानुन र आइसीसीको बृहत परिधिभित्र रही गर्न आइसीसी अध्यक्षले पत्राचार गरेका छन् | कुनै पनि राष्ट्रिय समितिलाई सम्बोधन नगरी तर अमेरिकाको आसन्न निर्वाचनको आधारलाई प्रष्ट खुलाई मंगलवार अध्यक्ष शेष घलेले यस्तो पत्र सार्वजनिक गरेका छन् | एनसीसी अमेरिकाको आसन्न निर्वाचनका अग्रपंक्तिमा रहेका प्रवल दावेदार गौरी जोशीको उम्मेदवारी निर्वाचन आयोगले सार्वजनिक नगरेपछि यो विषय आइसीसी समक्ष पुगेको थियो | यता अमेरिकामा रहेका कानुन व्यवसायीहरु यो आइसीसी गुहार्नुपर्ने विषय नै नभएको भन्दै अमेरिकामा दर्ता भएको एनसीसीको विधान अनुसार निष्पक्ष र स्वतन्त्र निर्वाचन गर्न निर्वाचन आयोगलाई कुनै अवरोध नरहेको जिकिर गर्छन् | एनसीसीको गत सप्ताहान्तमा सम्पन्न बैठकले पनि विधान अनुसार निर्वाचन गर्न आयोगलाई सुझाएको छ |

तैपनि आइसीसीका क्षेत्रीय संयोजक सोनाम लामा र उप संयोजक एसी शेर्पाले पत्र नै लेखेर जोशीको उम्मेदवारीलाई संकेत गर्दै आइसीसीको विधान अनुसार चुनाव गर्न भन्दै आयोगलाई दवाब दिएपछि आयोगले सूची निकालेन | तत्पश्चात विकसित घटनाक्रमले एनआरएन अमेरिकाको भविश्यका बारे समेत चिन्ता गर्न थालिएको छ | उम्मेदवारी मनोनयन गरेका जोशीले आफूमाथि अन्याय भएको भन्दै एनसीसी अमेरिकाको न्यायिक समितिमा उजुरी दिए भने आइसीसीबाट निर्वाचन आयोगलाई आफ्नो उम्मेदवारी सदर गर्न पुग्ने गरी आवश्यक कागजात माग गरे | न्यायिक समितिले जोशीको उम्मेदवारी एनसीसीको विधान अनुसार प्रक्रिया पुगेको भए अस्वीकार गर्नुपर्ने कारण नभएको भन्दै एनसीसी विधान अनुसार चुनाव हुनुपर्ने न्यायिक फैसला गरिसकेको छ भने आइसीसी सचिवालयका तर्फबाट महासचिव बद्री केसीले निर्वाचन आयोगलाई सम्पूर्ण कागजात उपलब्ध गरासकेका छन् |

तत्पश्चात कार्यक्षेत्रमा हस्तक्षेप भएको भन्दै क्षेत्रीय संयोजक लामा र उप संयोजक शेर्पाले आइसीसी अध्यक्ष समक्ष महासचिव केसीका विरुद्ध उजुरी गरेका थिए | त्यही उजुरीलाई सम्बोधन गर्दै अध्यक्ष घलेले यस्तो पत्राचार गरेका हुन् | घलेले आइसीसीको जुलाई ३० मा बस्ने बैठकले महासचिवको पत्रका बारे छलफल गर्ने उल्लेख गरेका छन् |

अब के होला ?

अध्यक्ष घलेले पठाएको पत्रका बारे एनआरएन अमेरिकाका अभियन्ताहरुको मिश्रित प्रतिक्रिया रहेको छ | तर कानुन व्यवसायीहरु एकै शब्दमा भन्छन्.-‘अध्यक्ष घलेको पत्रले एनसीसीको न्यायिक समितिले गरेको निर्णयलाई नै समर्थन गरेको छ | अर्थात् अन्य विषय जे भए पनि कुनै पनि एनसीसीको निर्वाचन भनेको सम्बन्धित एनसीसीको विधान,आइसीसीको बृहत परिधि र एनसीसी क्रियाशील रहेको भूमिको स्थानीय कानुन अनुसार हुनेछ भन्ने बुँदाले अब गौरी जोशीको उम्मेदवारी रोक्ने कारण निर्वाचन आयोगलाई छैन | निर्वाचन आयोगले अब सार्वजनिक गर्ने सूचीमा जोशीको उम्मेदवारी आउनुपर्छ |’

त्यसो त निर्वाचन प्रमूख बन्दिता दाहालले जोशीलाई इमेल मार्फत अब प्रकाशित हुने सूचीमा जोशीको नाम समावेश गरिने जानकारी दिएकी छिन् |
आइसीसी शेष घलेको पत्रका बारे हामीले अमेरिकामा रहेका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसंग प्रतिक्रिया लिएका छौं | के भन्नुहुन्छ उहाँहरु ?

डा अम्बिका अधिकारी, पूर्व संरक्षक/सल्लाहकार एनआरएन आइसीसी
आइसीसी अध्यक्ष घलेजीको पत्रले प्रष्ट भनेको छ स्थानीय कानुन र एनसीसी विधान अनुसार चुनाव गर्नु भनेर | हो,हामी पनि त्यसैका लागि लडेका हौँ | अर्को कुरा आइसीसी महासचिवले अभिलेख सम्बन्धी काम गर्ने हो जुन अभिलेख महासचिव बद्री केसीले एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीको अनुरोध अनुसार उपलब्ध गराउनु भएको छ | यो विषयमा अध्यक्षके हस्तक्षेप गर्नु चाहिं राम्रो भएन | अब यो विवाद सकियो | अमेरिकाको एनआरएनको चुनाव यहींको कानुन र विधान अनुसार गर्नुपर्छ | हामी सबै त्यही अनुसार निर्वाचनमा जानुपर्छ |

सोनाम लामा क्षेत्रीय संयोजक,एनआरएन आइसीसी

म क्षेत्रीय संयोजक हो यो क्षेत्र मेरो अधिकारभित्र पर्छ | यहाँको सबै जस अपजस क्षेत्रीय संयोजक र उपसंयोजक लिनुपर्छ | यो क्षेत्रमा हामीलाई नसोधी कुनै कुरा गर्न पाईदैन | यो कुरा विधानमा छ | आइसीसीको महासचिवले हामीलाई नसोधी व्यक्तिगत रुपमा जुन चिठी लेखेको छ त्यो फ़्रड हो | हामीले आइसीसी अध्यक्ष समक्ष निबेदन दियौं हामीलाई हस्तक्षेप गर्यो भनेर त्यसैको उत्तरमा अध्यक्षले पत्राचार गर्नु भएको हो | हामीले महासचिवलाई कारबाही गर्नुपर्छ भनेर माग गरेका छौं | अमेरिकाको एनआरएनको विषयमा बाहिरको मानिस यहाँ आएर बोल्न मिल्दैन | चुनाबको बेलामा जिबा लामिछाने अमेरिकामा आएर कसैको पक्षमा बोलेर हिंड्न मिल्दनै यो कुरा पनि हामीले आइसीसीमा उठाएका छौं | यो जिबाको गलत काम हो |

आनन्द बिष्ट,सभापति, नेपाली जनसम्पर्क समिति,अमेरिका

अमेरिकामा बिधान अनुरुप संस्थामा काम गर्न पाउने अधिकारलाई रोक्न खोजिएको छ | त्यो गर्न पाईदैन | आइसीसीले एनसीसीको कानुनको व्याख्या गर्न मिल्दैन र अध्यक्ष घलेजीको पत्रमा एनसीसीको कानुन अनुसार गर्नु भनेकाले सकारात्मक रुपमा लिनुपर्छ | कसैले पनि बाह्य हस्तक्षेप निम्त्याउनु हुँदैन | प्रजातान्त्रिक मुलुकमा सबैले आफ्नो अधिकार उपयोग गर्न पाउनुपर्छ |

 

बिनोद रोका, कानुन व्यवसायी एवं पूर्व निर्वाचन प्रमूख, एनआरएन अमेरिका

आइसीसीको फुटबल खेलाइमा यहाँको निर्बाचन आयोग स्यान्डविच बन्नु हुँदैन | आइसीसीबाट सबैको व्यक्तिगत धारणा आएको छ | व्यक्ति भनेको संस्था होइन | यसरी व्यक्तिगत रुपमा आएको कुरा आफ्नो पक्षमा भए राम्रो अनि विपक्षमा भए नराम्रो भन्ने हुँदैन | आइसीसीले एनसीसीलाई हस्तक्षेप गर्न मिल्दैन |

आफ्नो मर्यादा सबैले पालना गर्नुपर्छ | हामी अमेरिकामा छौं यहींको कानुन अनुसार यहाँको निर्बाचन हुनुपर्छ | निर्बाचन आयोग र न्यायिक समितिले यहींको कानुन अनुसार काम गर्नुपर्छ | अध्यक्ष घलेको पत्रमा पनि स्थानीय कानुन अनुसार नै गर्नुपर्छ भनिएको छ |

अन्जन श्रेष्ठ, एनआरएन अभियन्ता,टेक्सास

यो चिठीको कुरा गर्दा पृष्ठभूमिको कुरा गर्नुपर्छ | यो चिठीले एनसीसीको बिधान अनुसार जानुपर्छ भनेको छ | जुन स्वाभाविक हो, यो सकारात्मक छ | आइसीसी महासचिवले पठाएको चिठी जानकारीमुलक मात्रै हो | कुनै पनि एनसीसीलाई आइसीसीले हस्तक्षेप गर्न मिल्दैन ,बरु निर्बाचन कमिटीलाई हस्तक्षेप गर्न चिठी लेख्ने क्षेत्रीय संयोजक सोनाम लामालाई कारबाही हुनुपर्छ | यहाँको निर्बाचन आयोग निष्पक्ष हुनुपर्छ |

शैलेश आचार्य,पत्रकार

चिठी हेरें | त्यसमा अध्यक्ष र महासचिबको बीचमा नमिलेको कुरा देखें | त्यस मा हाम्रो सरोकार भएन | अध्यक्ष घलेको चिठीमा एनसीसीको बिधान अनुसार चुनाब गर्नुपर्छ भनेर भनिएकोले अहिलेसम्म अमेरिकामा उठेको मुद्दा टुंगिएको छ | सबैले निर्बाचनमा भाग लिन पाउनुपर्छ र स्थानीय कानुन अनुसार निर्बाचन गर्नु भनेकाले शेष घलेलाई म धन्यवाद दिन चाहन्छु | अब हामी सबै निर्बाचनमा लाग्नुपर्छ |

मुकुन्द ढुंगाना, सामाजिक अभियन्ता

हामी सबै अमेरिका बस्नेहरु यहीं मिलेर बस्नुपर्छ | बाहिरका मानिसको कुनै पनि हस्तक्षेप मान्य हुँदैन | यहींको कानुन अनुसार चुनाब हुनुपर्छ भन्ने अध्यक्षको भनाइ स्वागतयोग्य छ | त्यही अनुसार हुनुपर्छ |

लोकनाथ तिवारी, पूर्व वरिष्ठ उपाध्यक्ष एनआरएन अमेरिका

हाम्रो एनसीसीको कानुन अनुसार नै निर्बाचन हुनुपर्छ भन्ने आशयको पत्र छ त्यो ठीक हो | सबै काम बिधान अनुसार हुनुपर्छ | अब जुँगाको लडाइमा हामी पर्नु हुँदैन | अध्यक्ष घलेको पत्रलाई सकारात्मक रुपमा लिएर चुनाबमा हामी जानुपर्छ, नत्र संस्था नै धराशायी हुन्छ |

 

प्रतिक्रिया