‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

इनेप्लिज २०७४ साउन ११ गते १२:१४ मा प्रकाशित

पोखरा, ११ साउन । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।

पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ युवा सहभागी समाजिक सञ्जाल मेन्स रुम रिलोडेडको संयोजनमा आयोजित उक्त च्यारिटी सोमा चलचित्रका दर्शक, कलाकार, सञ्चारकर्मीसहितको उपस्थिति थियो ।

पुख्र्याैली थलो नेपाल रहेर पनि विभिन्न कारणवस म्यान्मारमा बस्दै आएका सर्वसाधारणमा नेपाल र नेपालीप्रतिको आत्मियतालाई चलचित्रमा देखाइएको छ । एउटा सच्चा प्रेममा माया पाउन निकै संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको निर्देशक रामशरण पाठकले बताउनुभयो ।

निर्माता सन्तोष सेनका अनुसार रु दुई करोड लागतमा निर्माण गरिएको प्रेमगीत – २ तयार हुन लगभग डेढ वर्षको समय लागेको हो ।

चलचित्रमा काठमाडौँ, राराताल, म्यानमार, थाइल्याण्ड आदि स्थानका दृश्य समेटिएको छ । प्रेमगीत – १ को सफलताले प्रेमगीत – २ का लागि प्रेरणा दिएको बताउने चलचित्रका नायक प्रदीप खड्का (प्रेम)ले यो चलचित्र अत्याधिक दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रकी नायिका अश्लेषा ठकुरी(गीतु)ले चलचित्र हेरेपछि नेपाली मूलका म्यान्मारवासीले नेपाललाई गर्ने माया, त्यहाँ रहेका नेपालीप्रतिको धारणा, सच्चा प्रेमका लागि गर्नुपर्ने संघर्षलगायतका विषयलाई दर्शकले अनुभूति गर्ने बताउनुभयो ।

प्रतिक्रिया