बच्चा जन्माउन नसकेर गैंडाको मृत्यु

इनेप्लिज २०७४ साउन १० गते १३:२९ मा प्रकाशित

रत्ननगर (चितवन), १० साउन । चितवन राष्ट्रिय निकुञ्जमा केटो (बच्चा) जन्माउन नसकेर गैँडाको मृत्यु भएको छ । करिब पाँच वर्षको गैँडा यसरी मृत्यु भएको पाइएको निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा कमल गैरेले आज जानकारी दिनुभयो ।

“निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत डुमरिया र दुधौरा पोष्टको बीचमा शुक्रबार गैँडा मरेको भेटियो”, गैरेले भन्नुभयो, “केटो पेटभित्रै मरेको पाइयो ।” निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार बच्चा ठूलो भएकाले जन्माउन नसकेको हो । उहाँले यो उसको पहिलो बच्चा भएको दाबी गर्नुभयो । शव परीक्षण गरेर मरेको भाले केटोलाई निकालिइएको हो ।

यसअघि गएको पुस ५ गते पनि यसैगरी बच्चा जन्माउन नसकेर एउटा गैँडाको मृत्यु भएको छ । चितवन निकुञ्जका अनुसार गएको एक वर्षमा विभिन्न कारणले २५ गैँडा मरेको छ । २१ वटा प्राकृतिक कारणले मरेको हो । दुईवटा गैँडा तस्करको गोलीबाट मारिएको थियो भने दुईवटा गैँडा करेन्ट लागेर मरेको थियो ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा ६०५ वटा रहेको तथ्याङ्क छ । उक्त गैँडामध्ये एक दर्जन जति शुक्लाफाँटा र बर्दियामा पठाइएको छ ।

प्रतिक्रिया