रत्ननगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन, व्यवसायीहरुको हक हितका लागि सधै लाग्ने – नवनिर्वाचित अध्यक्ष रेग्मी

इनेप्लिज २०७४ असार ३१ गते १९:१० मा प्रकाशित

रत्ननगर, चितवन, ३१ असार ।
चितवनको रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी सर्वसम्मत चयन भएका छन् । संघको ८औं अधिवेशनबाट रेग्मी आज सर्वसम्मत अध्यक्ष भएका हुन् । संघका पूर्व कोषाध्यक्ष यदुकृष्ण भट्टले अध्यक्षमा उम्मेदवारी दिएपनि सहमतिको लागि उनले आज शनिबार बिहान उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्षका उम्मेदवार भट्टलाई मानार्थ सदस्य दिने सहमति भए पश्चात् उनले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । अध्यक्ष बाहेक अन्य पदमा शुक्रबार उम्मेदवारी दर्ता कै दिन सर्वसम्मत भएका थिए । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरुको संयुक्त सहमतिमा सो समिति सर्वसम्मत चयन भएको हो ।
सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अनिल कृष्ण श्रेष्ठ, उपाध्यक्षहरु वाणिज्यतर्फ बिनोद पोख्रेल, उद्योगतर्फ रघुनाथ भट्ट, वस्तुगततर्फ भीमनारायण श्रेष्ठ र यसोसियटतर्फ शंकर गिरी निर्वाचित भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले आगामी अधिवेशनबाट लागु हुने गरी विधान संशोधन गरी अधिवेशन सम्पन्न गरेको हो । संशोधित विधान अनुसार आगामी अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् भने एशोसियट र वस्तुगत उपाध्यक्ष थप गरिएको छ । आगामी अधिवेशनबाट विधान अनुसार अनिल कृष्ण श्रेष्ठ स्वतः अध्यक्ष हुने छन् । वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदमा सहमति हुन नसके निर्वाचन प्रक्रियाद्वारा समिति चयन हुनेछ ।

यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवी प्रसाद डल्लाकोटी चयन भएका छन् । निर्वाचित सदस्यहरु मध्ये वाणिज्यतर्फको सदस्यहरुमा उपेन्द्र शर्मा आचार्य, माधव प्रसाद पौडेल, सोहेन्द्र राज खरेल, कविन घिमिरे, सिताराम भट्टराई, रामशरण नेपाल, ईश्वरी प्रसाद अर्याल र सुन्दरमणि सुवेदी चयन भएका छन् । त्यसैगरी उद्योगतर्फका सदस्यहरुमा निरज श्रेष्ठ, पुरु खनाल, राममणि थपलिया, निरन्जन थापा, हरि प्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मिना उप्रेती चयन भएका छन् । यसोसियट सदस्यमा लोजिक कृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगततर्फ जोगेन्द्र महतो पनि सदस्यमा चयन भएका छन् । संघको कार्यसमितिले ४ जना सदस्य मनोनित गर्ने विधानमा रहेको निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए ।

सर्वसम्मत कार्यसमिति चयन भएपछि पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष राजाराम रेग्मीले व्यवसायीहरुको हक, हित, सुरक्षा र व्यवसायिक एकताको लागि आफु सधै लागिपर्ने बताए । साथै रत्ननगर र समग्र पूर्वी चितवन क्षेत्रको विकासको लागि आफु सबैसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । सो पद हस्तान्तरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ज्ञान बहादुर विसुरालले नवनिर्वाचित अध्यक्ष राजाराम रेग्मीलाई माला लगाई पद हस्तान्तरण गरेका थिए ।
३ वर्षे कार्यकाल रहने संघको गत सोमबार उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले १८औं साधारण सभाको उद्घाटन गरेका थिए । संघको १८औं साधारण सभाको बन्द सत्रमा विधान संशोधनको विषयमा सदस्यहरुले प्रश्न गर्दै विधान संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका थिए भने बन्द सत्रमा केही भनाभन र तोडफोड समेत भएको थियो । सोही बन्द सत्रले विधान संशोधन समिति र साधारण सदस्यहरु बिच वार्ता टोली गठन गरी छलफलबाट विधान संशोधनलाई पुनः परिमार्जन सहित पारित गरी संघको ८औं अधिवेशनबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गर्न सफल भएको हो ।

प्रतिक्रिया