साठी लाखको जमिन निःशुल्क

इनेप्लिज २०७४ असार ३० गते १०:४२ मा प्रकाशित

रौतहटमा एकजनाले स्वास्थ्य चौकी निर्माणको लागि करिब साठी लाख रुपैया मूल्य पर्ने जग्गा निशुल्क दान गरेका छन् । रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ३ का विलासीराम सहनीले प्रचलित मूल्यमा साठी लाख पर्ने आठ कटा जमिन स्वास्थ्य चौकी भवन निर्माणका लागि निशुल्क उपलब्ध गराएका छन् । गरुडामा रहेको मालपोत कार्यालयमा नगरपालिकाका कार्यकारी अधिकृत, मलाही उपस्वास्थ्य चौकीका प्रमुख कैलाश राय यादव र जग्गादाता सहनीका परिवारजनको उपस्थितिमा एक कठा बाटो र सात कठा भवनको लागि जमिन उपलब्ध गराइएको हो ।

भवनको अभावमा वडा कार्यालयमा संचालन हुँदै आएको उपस्वास्थ्य चौकीको लागि जमिन उपलब्ध भएपछि आधुनिक स्वास्थ्य चौकी भवनको निर्माण हुने उपस्वास्थ्य चौकी प्रमुख यादवले बताएका छन् । आफ्नो घरपरिवारको सहमतिमा स्वास्थ्य चौकीको लागि जमिन दान निस्वार्थ भावले गरेको सहनीको प्रतिक्रिया छ । अहिलेको युगमा साठी लाख मूल्य पर्ने जग्गा निशुल्क पाउनु भनेको ठूलो उपलब्धि भएको गरुडा नगरपालिकाका कार्यकारी अधिकृत दीपेश झाको भनाइ छ । जमिन उपलब्ध गराउने सहनीलाई गरुडा नगरपालिका र उपस्वास्थ्य चौकीको तर्फबाट सम्मानित गरिएको छ ।

क्याप्सनः जग्गादातालाई सम्मानित गर्दै नपाका कार्यकारी अधिकृत

प्रतिक्रिया