संविधान संशोधनको विकल्प छैनः अध्यक्ष यादव

इनेप्लिज २०७४ असार २६ गते ९:३१ मा प्रकाशित

काठमाडौँ, २६ असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “समस्या समाधान हुनेगरी संशोधन हुनुपर्छ, संसद्मा प्रस्तुत विधेयक पारित भए पनि नभए पनि समस्याचाहिँ समाधान हुनुपर्छ, समस्या राज्य पुनःसंरचनाको प्रदेश सीमांकनसँग जोडिएको छ, यसको सम्बोधन हुनुपर्छ, यो विधेयकले समस्याको पूर्ण समाधान नगरे पनि ‘ट्र्याक’ खोल्नसक्छ ।”

अध्यक्ष यादवले आफ्नो पार्टी संसद्मा विचाराधीन रहेको संविधान संशोधन विधेयकको पक्षमा नै मतदान गर्ने स्पष्ट पार्दै उक्त प्रस्ताव अझै अपूरो, अधूरो र अदूरदर्शी रहेकाले परिमार्जनसहित पारित गराउनुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रसंगमा उहाँले अहिले आफ्नो पार्टी सरकारमा जाने हतारमा नरहेको उल्लेख गर्दै “जुन दिन हामी सरकारमा जाने आवश्यकता हुन्छ, त्यही दिन जान्छौँ, अहिले यसबारेमा सोचेका छैनौँ ।”

निर्वाचनलाई राष्ट्रिय जनता पार्टीले विरोध गर्नु गलत भएको र निर्वाचनमा जनताको उत्साहवद्र्धक सहभागिताले राष्ट्रिय एकता थप बलियो भएको अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिक्रिया