बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १४:०७
वासिङटन डिसी 04:22

सरकारमा सहभागिता र संशोधनको विषयमा राप्रपा बैठक अनिर्णित

इनेप्लिज २०७४ असार २५ गते ७:४८ मा प्रकाशित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा  सरकारमा सहभागिता र संविधान संशोधनका विषयमा सामान्य छलफल भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको बैठकमा संशोधनको विषयमा सामान्य छलफल भएपनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए ।

आजको बैठकमा अध्यक्ष कमल थापाले हिजो बालुवाटारमा सत्तारुढ दलसँग भएका छलफलको ब्रिफिङ गर्नु भयो’, श्रेष्ठले भने, ‘सरकारमा सहभागिता र  संशोधनका विषयमा सामान्य छलफल भएको छ । अब अर्को बैठकले ठोस निर्णय गर्नेछ । यद्यपी आजको बैठकले बजेट पास गर्ने सम्बन्धमा आवश्यक निर्णय गरेको श्रेष्ठले बताए ।

राप्रपाले संविधान संशोधन पारित गर्न सघाउने बताउँदै आएको भएपनि सो पार्टीभित्रकै विवाद रहेको बताइएको छ । यसअघि संशोधन विधेयक  निर्णयार्थ पेश गर्ने तयारी रहेकै अवस्थामा राप्रपाका १५ सांसद गायव भएका थिए ।

अब फेरि संशोधन पारित गर्नुपर्ने अवस्था आए सबै सांसदलाई कसरी मिलाउने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल भएको एक नेताले बताए ।  यद्यपी आजको बैठकमा भने सांसद रामकुमार सुब्बा र गणेश थापाबाहेक सबै सांसदको सहभागिता रहेको थियो ।

यसैबीच  आजको बैठकले सरकारका विषयमा ठोस निर्णय नगरेपनि उपप्रधानमन्त्री पाए सरकारमा जाने तयारीमा राप्रपा रहेको बताइएको छ ।

राप्रपा नेता दिलनाथ गिरीले आफूहरुले सम्मानजनक सहभागिता चाहेको भन्दै त्यो पूरा भएको खण्डमा  सरकारमा सहभागिता रहने बताए ।  राप्रपाले सरकारमा जानका लागि एक समिति नै बनाएको छ । सरकारका विषयमा सोहि समितिले आवश्यक सहमति जुटाएर टुंगोमा पुग्ने प्रवक्ता सुशील श्रेष्ठले बताए ।

प्रतिक्रिया