सवारी दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७४ असार २२ गते १०:४० मा प्रकाशित

बागलुङ, २२ असार । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

रेशदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ध१ज १८८ नंको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी काठेखोला गाउँपालिका–७ का २५ वर्षीय लालबहादुर थापा र सोही ठाउँका आठ वर्षीय दीपक कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा सवार अन्य आठजना यात्रु घाइते भएका छन् ।
आठ वर्षीय बालक कार्कीको घटनास्थलमै र थापाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको हो ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरु सबैको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिनुभयो । रेशस्थित जिरेदी भिरको हिलाम्मे सडकबाट जिप खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३५ वर्षीया पार्वती कार्की, २५ वर्षीय सुमन थापा, ३७ वर्षीय प्रेमबहादुर थापा र जिप चालक ३० वर्षीय रोशन कार्कीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अन्य घाइते ३५ वर्षीय मुक्तिराम थापा, ७० वर्षीय लालबहादुर कार्की, ४० वर्षीया शारदा थापा र १४ वर्षीया सङ्गीता कार्कीको अवस्था सामान्य रहेको रदुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया