शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं ०९:२८
वासिङटन डिसी 23:43

उन्नाइस अर्बको ऋण सहयोग

इनेप्लिज २०७४ असार ८ गते ११:३४ मा प्रकाशित

काठमाडौँ, ८ असार । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु १९ अर्ब पाँच लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

आगामी पाँच वर्षका लागि प्रदान गर्न लागेको उक्त सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन¬–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिनेछ ।

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र यहाँस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रबन्धक कामाताले उक्त कार्यक्रम कार्यान्वयनपछि ७० लाख विद्यार्थी र एक लाख ८० हजार शिक्षक लाभान्वित हुने बताउँदै त्यसबाट नेपाल सरकारको शैक्षिक क्षेत्र सुधार अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सचिव सुवेदीले कार्यक्रम कार्यान्वयन गर्ने निकाय शिक्षा मन्त्रालय र उक्त मन्त्रालय मातहतको शिक्षा विभागलाई गम्भीर भएर कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको विकासका पूर्वाधारका आवश्यकता, मानव संशाधन निर्माण र दिगो सामाजिक सेवा सुनिश्चित गर्ने सरकारको अभियानमा थप सहायता प्रवाह गर्न उक्त बैंकलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया