शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १६:३६
वासिङटन डिसी 06:51

वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

इनेप्लिज २०७४ असार ७ गते १२:०९ मा प्रकाशित

काठमाडौँ, ७ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा देखिएको समस्यालगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको फोरमका सल्लाहकार प्रज्ञान न्यौपानेले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफू वैदेशिक रोजगारका समस्याबारे जानकार रहेको बताउँदै दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै सरोकारवाला मन्त्रालय र निकाय बोलाएर यस सम्बन्धी बृहत् छलफल गर्ने बताउनुभयो ।

छलफलबाट आएको निष्कर्षका आधारमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारले आफ्नो भूमिका अगाडि बढाउने प्रधानमन्त्री देउवाले बताउनुभएको सल्लाहकार न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते नयाँ नेतृत्व चयनका लागि हुने २५ औँ साधारणसभामा एकताबद्ध भएर जान फोरमका प्रतिनिधिमण्डललाई प्रधानमन्त्रीले सुझाव पनि दिनुभयो ।

प्रतिक्रिया