पन्ध्र अर्ब राजस्व सङ्कलन

इनेप्लिज २०७४ असार ६ गते ११:३८ मा प्रकाशित

चितवन, ६ असार । आन्तरिक राजस्व कार्यालय, भरतपुरले गत आवको जेठ मसान्तसम्ममा सङ्कलन गरेको राजस्वभन्दा चालु आवको सोही अवधिमा रु चार अर्ब ३३ करोड दुई लाख ६७ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयलाई विभागले चालु आवका लागि दिएको लक्ष्यभन्दा बढी राजस्व ११ महिनामै सङ्कलन भएको छ । चालु आवको जेठ मसान्तसम्ममा रु १४ अर्ब ९८ करोड २१ लाख १३ हजार राजस्व सङ्कलन भएको छ । विभागले कार्यालयलाई जेठ मसान्तसम्ममा रु १२ अर्ब ७९ करोड ३० लाख ७५ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

कार्यालयका कर अधिकृत जिवराज निरौलाका आनुसार चालु जेठसम्ममा लक्ष्य भन्दा ११७ दशमलव ११ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आवको जेठ मसान्तसम्ममा रु १० अर्ब ६५ करोड १८ लाख ४६ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवको असार मसान्तसम्ममा रु १४ अर्ब ६३ करोड ७७ लाख ८५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको छ । लक्ष्यभन्दा रु ३४ करोड ४३ लाख २८ हजार बढी राजस्व सङ्कलन भइसकेको छ ।

कार्यालयले आय करमा १३९ दशमलव ५२ प्रतिशत, घरबहाल करमा १४६ दशमलव ८९ प्रतिशत, ब्याजमा १०३ दशमलव ७८ प्रतिशत, मूल्य अभिवृद्धि करमा १०३ दशमलव ०६ प्रतिशत, अन्तःशुल्कमा ११७ दशमलव २८ प्रतिशत, स्वास्थ्य सेवाकरमा ४८ दशमलव ७५ प्रतिशत र शिक्षा सेवाकरमा १०२ दशमलव ६३ प्रतिशत राजस्व असुली गरेको छ ।

कार्यालयले सङ्कलन गर्ने करको महत्वपूर्ण हिस्सा अन्तःशुल्क हो । सो कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु १२ अर्ब ८५ करोड ३७ लाख २७ हजार असुली गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले अन्तःशुल्क दर बढेको, कार्यालयले निरन्तर कर सङ्कलन प्रयास जारी राखेको, उद्योग कलकारखाना र व्यवसाय थपिएको एवम् कर तिर्नुपर्छ भन्ने चेतनाको विकास भएकाले कर सङ्कलन बढेको बताउनुभयो । कार्यालयमा ४० हजारभन्दा बढी करदाता रहेका छन् ।

प्रतिक्रिया