नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ हुने

इनेप्लिज २०७४ असार २ गते ११:१६ मा प्रकाशित

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ ।

प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रियशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो ।

प्रतियोगिताबारे आयोजकले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनमा सहभागी गराउने प्रमुख उद्देश्य हाम्रो रहेको छ,’ आयोजक युथ क्रियशन नेपालका अध्यक्ष रवि लामाले भने– ‘प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पनि सम्पदा संरक्षण र प्रवद्र्धनको पाटो कुनै न कुनै माध्यमबाट प्रयोगमा ल्याइनेछ ।’

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन असार ९ गतेसम्म आवेदन माग गरिएको छ । असार १० गते छनोट र १२ गतेदेखि तालिम सुरु हुनेछ भने साउन ५ गते अन्तिम प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुनेछ । आवेदन फाराम युथ क्रियशन नेपालको कार्यालय पुतली सडकबाट लिन सकिनेछ ।

मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यद्यपी आयोजकले पुरस्कारको धनराशी भने तय गरिसकेको छैन् । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइने युथ क्रियशन नेपालकी सह संयोजक एन्जिला तामाङले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकारहरु दामोदर लामा, फुर्साङ तामाङ तथा कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया