शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०२:५६
वासिङटन डिसी 17:11

भूकम्पमा साहसपूर्ण काम गरेका पाण्डे र थापालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’

इनेप्लिज २०७४ जेठ २९ गते १७:५४ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले विनाशकारी भूकम्पका समयमा साहसपूर्ण काम गरेबापत दुई पत्रकारलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।

उपराष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पका बेलामा घाइते भएका र उद्धारमा खटिएका व्यक्तिलाई समेटेर बनाइएको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डे र फोटो पत्रकार अमूल थापालाई सम्मान गर्नुभयो । नेपालको भूकम्पको व्यथालाई संसारभर पुर्याउन सफल पाण्डे र जोखिम मोलेर भक्तपुरका बालक सोनिस अवालको तस्वीर लिने फोटोग्राफर थापालाई सम्मान गर्न पाउँदा खुसी लागेको उपराष्ट्रपति पुनले बताउनुभयो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ भइरहेकाले सरकारले चाँडोभन्दा चाँडो यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

भूकम्पमा परी ज्यान गुमाउनुका बाँकेका सफल व्यवसायी एवं दैनिक नेपालगन्जका संचालक अच्युतराज सुवेदीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । भूकम्पमा घाइते हुनुभएका सुवेदीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा दुई बर्ष अघि आजैका दिन निधन भएको थियो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्पले सिकाएको पाठ अझै सिक्न नसकिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष तथा स्व अच्युतका पिता प्रकाश सुवेदीले भूकम्पका समयमा विभिन्न माध्यमबाट उद्धार र सहयोगमा खटिने सबैलाई धन्यवाद दिनुभयो ।

गत वर्ष स्थापित प्रतिष्ठानले विभिन्न क्षेत्रमा राम्रो काम गर्ने युवालाई प्रोत्साहनस्वरुप सम्मान गर्ने लक्ष्य राखेको प्रतिष्ठानका संरक्षक पूर्वउपसभामुख तथा स्व सुवेदीकी आमा पूर्णकुमारी सुवेदीले बताउनुभयो ।

सञ्चारकर्मी अच्युतराजले केही दैनिक पत्रिकामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नुभएको थियो । आगामी बर्षमा पनि यसैगरी उत्कृष्ट कार्य गर्ने संचारकर्मी र समाजसेवीलाई सम्मान गर्ने प्रतिष्ठानका सचिव झलक गैरेले बताउनुभयो ।

प्रतिक्रिया