शनिबार, असोज ९ २०७८
काठमाडौं ०२:५६
वासिङटन डिसी 17:11

पत्रकारितालाई राजनीतिमुक्त बनाइनुपर्छ : सञ्चारमन्त्री

इनेप्लिज २०७४ जेठ २२ गते १५:१४ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई राजनीतिमुक्त बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

आफ्नो १० महिने कार्यकालपछि आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री कार्कीले पत्रकारितालाई दलगत राजनीतिबाट मुक्त गरी स्वच्छ र व्यावसायिक बनाइनुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री कार्कीले अहिले मुलुकको राजनीतिलाई ठीक ठाउँमा लैजान जरुरी भएको र राजनीति सही ठाउँमा आए सबै कुरा ठीक हुने जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सङ्लो पार्न कर्मचारीतन्त्रको महत्वपूर्ण भूमिका हुने भन्दै कर्मचारीतन्त्रलाई स्वच्छ, सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कार्कीले आफ्नो कार्यकालमा दूरसञ्चार सेवालाई गाउँका दूरदराजसम्म पु¥याउने, सरकारी सञ्चारमाध्यमलाई सवलीकरण गर्नेजस्ता महत्वपूर्ण काम भएको र यसका लागि सबै निकायको समन्वय र प्रभावकारी भूमिका स्मरणीय छ भन्नुभयो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मन्त्रीसँगको आफ्नो पाँच महिने कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र नीतिगत रुपमा दीर्घकालीन महत्वका प्रभावकारी काम भएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सञ्चारमन्त्री कार्कीको सरलता र दार्शनिकता सबैका लागि सान्दर्भिक हुने धारणा राख्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव, सहसचिव तथा मातहत निकायका प्रमुख प्रतिनिधिले मायाको चिनो र पुष्पगुच्छाका साथ मन्त्री कार्कीलाई बिदाइ गर्नुभएको थियो ।

प्रतिक्रिया