यसरी गुमायो नुवाकोटको बेलकोटगढी नगरपालिकामा काँग्रेसले सुनौलो अवसर….

इनेप्लिज २०७४ जेठ १३ गते २१:३५ मा प्रकाशित

२६ मे, २०१७ काठमाडौं ।

नेपाली काँग्रेसले केन्द्रदेखि क्षेत्र, जिल्ला हुँदै गाउँसम्मका आफ्ना संरचना तथा पार्टी पंक्तिलाई चुस्त दुरुस्त राख्न नसक्दा यसपटकको स्थानीय चुनावमा धेरै ठाउँमा नमिठो पराजय भोग्नुपरेको छ । विशेष गरी पार्टी सभापति शेरबहादुर देउवाको हठ तथा उहाँका आसपासमा रहेका केन्द्रीय नेताहरुको सनकका कारण काँग्रेसीहरुले यसपटकको चुनावमा धेरै ठाउँमा लज्जाजनक परिणाम प्राप्त भएको छ ।

चुनावमा उठेका आफ्ना पार्टीका उम्मेद्वारको मनोबल बलियो बनाउन साम, दाम दण्ड भेद सबै अपनाउनु पर्नेमा उसलाई समर्थन गर्नुको साटो हचुवामा निर्णय गरिँदा पार्टीले देशभर काँग्रेसले पराजय बेहोर्नुपरेको छ । यसको जिम्मेवार पार्टीका सभापति शेरबहादुर देउवा र तत्कालीन समयमा परराष्ट्रमन्त्री बन्नुभएका प्रकाशशरण महतले लिनुपर्ने भन्दै काँग्रेसीहरुले आपत्ति जनाएका छन् । यसको पछिल्लो उदाहरण नुवाकोटमा देखिएको छ । स्थानीय चुनावमा उम्मेद्वार उठाउने विषयमा नुवाकोटको काँग्रेस चुनावका लागि केन्द्रीय प्रतिनिधिको रुपमा पार्टीबाट खटाइएका महामन्त्री प्रकाशमान सिंहको रोहबरमा जिल्लाका उच्च पदस्थ नेताहरुबीच छलफल भएको थियो ।  सो छलफलका क्रममा पार्टीका महासमिति सदस्य रहनुभएका जिलिङ्ग निवासी प्रतापसिंह लामालाई मेयर र पार्टीको जिल्ला सदस्य हीरा पाण्डेलाई उपमेयरको रुपमा जिम्मेवारी दिने निर्णय गरी बेलकोटगढी नगरपालिकाको नेतृत्वमा पठाउने सहमति बनेको थियो । तर सहमतिको मसी सुक्न नपाउँदै नेता प्रकाशशरण महतले वडा सदस्य पदको दाबेदारको रुपमा रहनुभएका यादव नेपाललाई फोन सम्पर्क गरी पार्टी सभापति मार्फत् मेयरको टिकट दिने बताउनुभएपछि बेलकोटगढी नगरपालिकामा काँग्रेसले यसपटक नमिठो पराजय बोहोर्नुप¥यो ।

पार्टीले खटाएको केन्द्रीय प्रतिनिधिको रोहबरमा भएको सहमतिको केही घण्टा वित्न नपाउँदै पार्टी सभापतिको हवाला दिँदै परराष्ट्रमन्त्री महतले लामालाई रद्द गरेर नेपाललाई बेलकोटगढी नगरपालिकाको मेयरको टिकट दिएको विषयमा काँग्रेसलाई बुझ्नेहरु मात्रै होइन स्थानीय गाउँलेहरु समेत आश्चर्यमा परेका छन् । त्यसो फलस्वरुप बेलकोटगढी नगरपालिकामा बलियो सम्भावना भएपनि सबै वडामा काँग्रेसले आपसी खिचातनीको पराजय बेहोर्नुपरेको भन्दै काँग्रेसीजनहरुले मन अमिलो बनाएका छन् ।

स्मरणीय के त भने गत संसदीय चुनावका बेला हालको बेलकोट गढी नगरपालिकामा रहेका सबै गाविसमा काँग्रेसले सानदाररुपमा बहुमत प्राप्त गरेको थियो । जसमध्ये हालको नगरपालिकामा आवद्ध रहेका बेलकोट, जिलिङ, रातमाटे तथा दुईपीपल गाविसमा त्यतिबेला काँग्रेसलाई दोब्बर मत आएको थियो । तर पार्टीभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा मनलाग्दी तन्त्रले काँग्रेस अहिले सो क्षेत्रमा दोश्रो होइन तेश्रो बन्न पुगेको छ । विशेषत यसका पछाडि भएका षड्यन्त्रको तानाबाना प्रकाशशरण महतले नै बुनेको काँग्रेसीहरु बताउँछन् । नुवाकोटे जनतामाझ लोकप्रिय बनेका सालीन स्वभावका प्रभावशाली नेता अर्जुनरसिंह केसीको क्षेत्र भएका कारणले पनि महतलगायतका केही अन्य केन्द्रीय नेताहरुले नै यो ठाउँमा विभिन्न खाले जालझेल विगतदेखि नै बुन्दै आएका थिए । केसीलाई असफल बनाउनका लागि यसपटक केसी मन्त्री पदमा रहेका बेला पार्यप्त मात्रामा जनताको घरदैलो गर्न नपाउँदै एकाएक नकारात्मक सन्देश प्रवाह गर्दै उम्मेद्वार फेर्ने मात्र नभै पार्टीलाई नै लज्जित बनाउने खालका खेलहरु खेल्न पुगे । यसका विरुद्ध अब सिँगो काँग्रेस एक नभए काँग्रेसले बेलकोट गढी नगरपालिका मात्रै होइन देशका अधिकांश जिल्ला र क्षेत्रलाई पार्टीको पकटबाट गुमाउनुपर्नेतर्फ बेलैमा सचेत बन्न नुवाकोट काँग्रेसले सच्चा काँग्रेसीहरुलार्य आग्रह समेत गरेको छ ।

प्रतिक्रिया