शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०२:५५
वासिङटन डिसी 17:10

नीति तथा कार्यक्रम राष्ट्रपतिद्धारा संसदमा प्रस्तुत, पुरानै योजना कार्यान्वयनमा प्राथमिकता

इनेप्लिज २०७४ जेठ ११ गते १४:०५ मा प्रकाशित

काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गर्नुभएको थियो ।

मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।

निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गर्नुभएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा (एमाओवादी केन्द्र)का अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गर्नुभएको थियो ।

वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।

संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । रासस

प्रतिक्रिया