न्युयोर्क, नेपाल डे परेड र मिनी नेपालको परिकल्पना

इनेप्लिज २०७४ जेठ ९ गते २१:०८ मा प्रकाशित

न्युयोर्क । बिश्वको एउटा सर्वोच्च र सक्तिशाली देशको रुपमा अमेरिकालाई चिनिन्छ । अमेरिकाको न्युयोर्क त अझ ‘बिग एप्पल’ नै हो । ‘वल्र्ड क्यापिटल’ को रुपमा परिचय बनाएको न्युयोर्कमा हुने हरेक गतिविधि संसारका मानिसका लागि चासोको विषय बन्छ । सीएनएन, फक्स न्युज, न्युयोर्क टाइम्सलगायत चर्चित संचारमाध्यमको केन्द« हो, न्युयोर्क ।

न्युयोर्कको मुटु हो म्यानह्याटन । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प पनि म्यानह्याटनवासी नै हुन् । टाइम्स क्वाएर, वल्र्ड ट्रेड सेन्टर, ग्रयाण्ड सेन्टर, ट्रम्प टावर, इम्पाएर स्टेट विल्डिङ, यूएनको केन्द«ीय कार्यालय देखि अमेरिकाको ठूला ठूला भवन, उद्योग न्युयोर्कमा नै छ । हो, यही स्थानमा आईतवार हजारौंको संख्यामा रहेका नेपाल र नेपालीको आफ्नो आत्मसम्मान, अस्तित्व र पहिचानलाई प्रदर्शन गर्न सफल भएका छन् ।

बुद्ध जयन्ती र गणतन्त्र दिवसको अबसरमा न्युयोर्कमा आयोजना गरिएको नेपाल डे परेडमा हजारौंको संख्यामा नेपालीको उत्साहप्रत सहभागिताले न्युयोर्कमा ‘मिनी नेपाल’ को परिकल्पना गर्न थालएको छ । नेपाल डे परेडमा स्वस्फूर्त रुपमा उपस्थित नेपाली समुदाय, संघ संस्थाले आइतवार अमेरिकामा नेपालीको शिर सगरमाथाजस्तै उच्च बनाएका छन् । नेपाली समुदाय राष्ट्रिय झण्डासहित उपस्थित भई ‘वल्र्ड क्यापिटल’ न्युयोर्कको म्यानह्याटनलाई नेपालमय बनाइदिएका थिए । सो दिन म्यानह्याटन नेपाली झण्डा, झाँकी र भेषभूषाले रगीनमय भई बेहुलीजस्तै सजिएको थियो ।

म्यानह्याटनको मेडिसन एभिन्यू ठप्प पर्दै हजारौं नेपाली उर्लिएर देखेर न्युयोर्क घुम्न आएका पर्यटक र म्यानह्याटवासी पनि अचम्मितमा थिए । निकै लामो र ठूलो र्यालीको कारण न्युयोर्कमा ट्राफिक ब्यबस्थापनमा कठिनाई भइरहेको थियो । तर, पनि न्युयोर्क प्रहरीले ब्यबस्थित ढंगले ट्राफिक ब्यबस्थापन र सुरक्षा प्रदान गरि एउटा उत्कृष्ट कुशलता प्रदर्शन गर्यो । म्यानह्याटनको म्याडिशन एभिन्यूमा सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । राष्ट्रिय पोशाक, झण्डा, झाँकीसहित उपस्थित भई नेपालीले नेपालको धार्मिक, सास्कृति र पर्यटकीय महत्वलाई उजागर गरिरहेका थिए ।


न्युयोर्कजस्तोे ब्यस्त शहरमा देश र जनताको लागि एक दिन पुरा समय दिएर र्यालीमा सहभागिता हुनु पनि आफैमा चुनौतपूर्ण कार्य हो । कार्यक्रमपछि परदेशमा रहेर पनि देशलाई माया गर्ने नेपाली समुदायको उपस्थितिले धेरैको मनोबल र आत्मबलसमेत बढाएको छ । यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…जस्ता गीतमा नेपालको झण्डासहित हजारौं नेपाली अमेरिकाको मुटु म्यानह्याटमा उर्लिदा जोकोही गर्वले छाती फुलाईरहेका थिए । एकछिन त म्यानह्याटन मिनी नेपाल भइसकेको थियो । परेडमा सहभागि कसैलाई पनि अमेरिकामा छु भन्ने भान भइरहेको थिएन । यसकारण पनि अमेरिकामा रहेका थुप्रै नेपाली संघ, संस्थाको उपस्थितिमा आइतवार आयोजना गरिएको नेपाल डे परेड निकै सफलतापूर्वक ढंगले सम्पन्न भएको देखिन्छ ।
बास्तवमा यो कार्यक्रमले नेपालको सस्कृति, भेषभूषा र पहिचानलाई अमेरिकामा छुट्टै ढंगले स्थापित गर्न सफल भएको छ । सगरमाथा आरोही, कलाकार, पत्रकार र विभिन्न समुदाय र संस्थाका प्रतिनिधिको ठूलो सख्यामा एउटै छातामुनी उभिएर एउटा सांगठनिक एक्यबद्धता पनि प्रस्तुत गरेका छन् । संसारकै महंगो र महत्वको शहर न्युयोर्कमा हजारौंको संख्यामा नेपालीको बसोवास रहेको छ, भन्ने सन्देश पनि नेपाल डे परेडले दिन सफल भएको छ ।


नेपाल डे परेड नेवार, शेर्पा, गुरुङ तामाङलगायत विभिन्न जात जाति आ आफ्नो भेषभूषामा सजिएर कला प्रस्तुत गरी नेपालको सास्कृतिक पर्यटनको प्रबद्र्धन गरेका थिए । हिमाल आरोहीको छाता संगठन यूएस नेपाल क्लाम्बर्स एसोसियसनले सेभ द हिमालय भनेर आरोहीको भेषभूषा, क्याम्प र फोटो प्रदर्शन गरी हिमाल अरोहणसंगै हिमाल बचाउ भन्ने एउटा राम्रो सन्देश पनि दिन सफल भएको छ ।

अमेरिकामा रहेर पनि नेपाली राष्ट्रियता, धर्म, संस्कृतिको महत्व हामीलाई उत्तिकै छ भन्ने प्रवासी नेपालीको आवाजको प्रतिनिधित्व पनि कार्यक्रमबाट भएको छ । पछिल्लो पिडिलाई नेपाली सस्कृति र पहिचानको महत्व दिन र सिकाउनको लागि पनि यो कार्यक्रम कोशेढुगा सावित भएको छ।

न्युजर्सी, कनेक्टिकट, डिसीलगायत नजिक र टेक्सासजस्टो टाढा रहेको राज्यबाट समेत यो कार्यक्रममा सहभागिता नेपाली समुदायको उपस्थिति भई सामुदायिक एक्यबद्धता प्रस्तुत गरेका छन् । विदेशमा रहनेलाई देशको माया हुदैन भन्नेहरुको लागि नेपाल डे परेड एउटा उदाहरणको रुपमा प्रस्तु भएको छ । सन् २०१६ देखि सुरु भएको नेपाल डे परेड बर्षिक रुपले उपस्थित हुने नेपाली समुदायको संख्या बढ्दो छ । सन् २०१७ को नेपाल डे परेडमा करिब आठ देखि दश हजारको संख्यामा नेपालीको उपस्थिति रहेको अनुमान गरिएको छ । नेपाल डे परेड २०१७ का संयोजक मंगलदास श्रेष्ठले नेपाल डे परेडले न्युयोर्कमा नेपालीको सान र मान बढाएको बताउनुभयो । विश्वकै राजधानी न्युयोर्कमा स्वस्फूर्त रुपमा नेपालीको सहभागिताले आफूहरु थप उत्साहित भएको पनि श्रेष्ठले भन्नुभयो ।

यूएस नेपाल क्लाइम्बर्स एसोसियसनका अध्यक्ष पासाङ शेर्पाले आफूहरुले सेभ द हिमालय भन्ने नारा सहित र्यालीमा सहभागिता जनाएको बताउनुभयो । विश्वका सर्वोच्च शिखर १५ पटकसम्म आरोहण गरेका र कीर्तिमान राखेका आरोहीले परेडमा सहभागिता जनाएको जानकारी दिनुभयो । परेडमार्फत जलवायू परिवर्तनलगायत कारणले हिमाली क्षेत्रमा पारेको असर सम्बन्धमा आफुहरुले सकारात्मक सन्देश प्रवाह गर्न सकेको सगरमाथा आरोही आङग्याल्जेन शेर्पाले बताउनुभयो ।

करिब चार घण्टाको परेड म्याडिशन एभिन्यूबाट सुरु भई म्यानह्याटनको विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको थियो । नेपाल डे परेड सन् २०१७ को उद्घाटन उद्योग मन्त्री नविन्द«राज जोशीले गर्नुभएको थियो । विशेष अथितको रुपमा अमेरिकाका लागि नेपालका राजदुत डा. अर्जुन कार्की, महामहिम दुर्गा भट्राईलगायतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनपछि नेप्लीज अमेरिकन मिडिया एण्ड रिसर्च सेन्टरले न्युयोर्कको ज्याक्सन हाईटस्थित सत्यनारायण मन्दिरमा चुनावी दौडमा रहेका एनआरएन एनसीसीका अध्यक्षका प्रत्यासी प्रतिनिधिलाई अमेरिकामा नेपाल र नेपालीका हितमा गर्न सकिने थुप्रै विषयमा संकल्प र सपथ गराइएको थियो । पत्रकार किरण मरठले टक शोमार्फत मिनी नेपालको परिकल्पनासहित अमेरिकामा रही नेपाल र नेपालीका हितमा गर्न सकिने विषयलाई आफूहरुले संकल्पको रुपमा प्रस्तुत गराउनको लागि अध्यक्षका प्रत्यासीबीच सत्यनारायण मन्दिरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया