धनगढीका दुई स्थानमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

इनेप्लिज २०७४ वैशाख ३० गते ८:३२ मा प्रकाशित

कैलाली ,३० बैशाख । धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेको छ । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा बम फेला परेको हो ।

बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।

धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।

उता, नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले शनिबार बिहानै डोटीको शिखर नगरपालिका ८, गोल्मागाडमा मिनि ट्रकमा आगजनी गरेका छन् ।

 

नेपालगंजबाट अछामको साफेबगर समान लिएर जादै गरेको भे १ ख ११५१ नम्बरको मिनि ट्रकमा विप्लवका कार्यकर्ताहरुले आगजनी गरेका हुन । आगजनीबाट ट्रक पुर्णरुपमा नष्ट भएको तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लोकेन्द्र मल्लले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया