जानकी मेडिकल कलेजमा पुनः हडताल

इनेप्लिज २०७४ वैशाख २९ गते ११:१४ मा प्रकाशित

महेन्द्रनगर (धनुषा), २९ वैशाख । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा पुनः कर्मचारीले हडताल गरेका छन् ।

विगत १५ महिनादेखि तलब नपाएको भन्दै आजदेखि अस्पतालको आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

गत बिहीबार बसेको प्राध्यापक, चिकित्सकलगायत सम्पूर्ण कर्मचारीको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै आजदेखि हडताल गरेका छन् ।

पन्ध्र महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चयकोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण गरिरहेको कर्मचारीले आरोप लगाएका छन् ।

आगामी जेठ २ गतेदेखि आकस्मिक सेवासमेत बन्द रहने र थप बन्द हडतालसहित सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने कर्मचारी हकहित सङ्घर्ष समितिका अध्यक्ष मकेश्वर यादवले जानकारी दिनुभयो ।

कर्मचारीले तलब नपाएकै कारण मेडिकलद्वारा जनकपुरको ब्रह्मपुरीमा सञ्चालित जानकी मेडिकल सिटी अस्पताल पनि विगत चार महिनादेखि बन्द रहेको छ । कर्मचारीहरुले उक्त अस्पतालमा चार महिनाअघि तालबन्दी गरेका थिए ।

जानकी मेडिकल कलेजमा कार्यरत ४०० भन्दा बढी कर्मचारीको झन्डै रु १५ करोड तलब भत्ता बाँकी रहेको छ । समयमा तलब भत्ता नदिँदा मेडिकल कलेजमा तालाबन्दीसहित आन्दोलनका कार्यक्रम पहिलेदेखि नै हुँदै आएकाले मेडिकलको अवस्था धरासायी हुँदै गएको छ ।

बेलाबेलामा विभिन्न कारणले विवादमा आइरहेको यस जानकी मेडिकल कलेज मेडिकल काउन्सिलको न्यूनतम मापदण्ड पूरा नगरेपछि काउन्सिलले यस जानकी मेडिकल कलेजलाई गत तीन वर्ष भर्ना अनुमतिसमेत दिएको थिएन । यद्यपि यस वर्ष राजनीतिक दबाबमा यस शैक्षिकसत्रमा ८० सिट पाएको छ ।

सन् २००३ देखि नै प्रथम ब्याच सुरु भएको यस कलेजमा बीचमा तीन वर्ष भर्ना अनुमति नपाउँदा कलेजको अवस्था नाजुक बन्दै गएको छ ।

विगतमा यस कलेजका सञ्चालकको झगडाका कारण तलब पाउन कर्मचारीले र पढाइ सञ्चालन गर्न विद्यार्थीले पटक पटक आन्दोलन गर्नुपरेको स्थित रहँदै आएको छ ।

रामजानकी स्वास्थ्य फाउन्डेसन प्रालिको पहलमा सञ्चालित यस जानकी मेडिकल कलेज अहिले हरिमान लामाको अध्यक्षतामा नयाँ व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयामा १६ बिगाहा क्षेत्रफलमा स्थापित कलेजको १६० बेडको एक अस्पताल रहेको छ जहाँ शैक्षिक गतिविधि र छात्रावास रहेको छ भने ३६५ बेडको अर्को सिटी अस्पताल जनकपुरको ब्रह्मपुरीमा सञ्चालन गरिएको छ ।

यस कलेजमा किस्तामा शुल्क बुझाउँदा रु ४२ लाख र एकमुस्ट शुल्क बुझाउने विद्यार्थीलाई रु ४० लाखमा भर्ना लिने गरेको प्रिन्सिपल डा हुकुमदेव साहले जनाउनुभएको छ ।

तर अहिले कर्मचारीले तलब नपाएको भन्दै विगत चार महिनादेखि जनकपुरको सिटी अस्पताल पनि बन्द रहेको छ भने आजदेखि रमदैयास्थित अस्पतालमा कर्मचारीले हडताल सुरु गरेका छन् ।

प्रतिक्रिया