सोमबार, कार्तिक १० २०७७
काठमाडौं १०:०४
वासिङटन डिसी 00:19

एमाले कार्यकर्तामाथिको आक्रमण रोक्न प्रहरीले नसघाएको ओलीको आरोप

इनेप्लिज २०७४ वैशाख २७ गते ११:३६ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताउनुभयो ।

निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

“देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।”

उहाँले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भन्नुभयो ।

अध्यक्ष ओलीले घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया