बेलायतको संसदीय निर्वाचनमा इतिहाँस बनाउँदै नेपाली मुलका डा.कैनी

इनेप्लिज २०७४ वैशाख २६ गते १९:५३ मा प्रकाशित

 

लन्डन, २५ वैशाख । बेलयातको संसदीय चुनावमा नेपाली मुलका डा.बच्चुकैलाश कैनीले उम्मेदवारी दिने पक्कापक्की भएको छ । बेलायतमा ८ जुनमा संसदीय निर्वाचन हुँदै छ । सोही निर्वाचनमा डा.कैनी डार्टफोर्ड क्षेत्रबाट लेबर पार्टीको उम्मेदवार बन्ने निश्चित भएको समाचारमा उल्लेख छ ।

लेबर पार्टीको आन्तरिक चयन प्रक्रिया पूरा भएपछि डा.कैनी सांसद पदको उम्मेदवार बन्ने पक्का भएको हो । आन्तरिक उम्मेदवार चयन प्रक्रियामा डा.कैनीभन्दा अगाडि रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डा.कैनीलाई उम्मेदवार बन्न बाटो खुलेको थियो ।

लेबर पार्टीको केन्द्रीय कमिटीको निर्णय र प्रस्तावलाई आफूले स्वीकार गर्दै सांसदको उम्मेदवार बन्ने निर्णय लिएको उनले उल्लेख गरेका छन । मे ११ तारिखमा डा.कैनीले आफ्नो उम्मेदवारी मनोनय गर्ने छन् । डा.कैनी उम्मेदवार हुन लागेको डार्टफोर्ड क्षेत्रमा यसअघि कञ्जरभेटिव पार्टीले जित हासिल गरेको थियो । विगत पाँच वर्षदेखि लेबर पार्टीमा सक्रिय रहेका डा.कैनी सन् २०१५ मा सोही पार्टीका तर्फबाट डार्टफोर्डको काउन्सिलर निर्वाचित भएका थिए ।

सन् २०१४ मा सम्पन्न लेबर पार्टीको राष्ट्रिय महाधिवेशनमा डा.कैनीले डार्टफोर्ड जिल्ला कमिटीबाट एक्लो महाधिवेशन प्रतिनिधिका रुपमा भाग लिएका थिए । डा.कैनीले केही समय पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुपमा समेत काम गरिसकेका छन् ।

तनहुँ जिल्लाको कमलाबारीमा जन्मिएका डा.कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा वरिष्ठ व्यवस्थापकको रुपमा कार्यरत छन् । डा.कैनीका पिता स्वर्गीय मेघनाथ कैनी तनहुँ जिल्लामा नेपाली कांग्रेसमा आवद्ध थिए ।

प्रतिक्रिया