एमाले कालिका नगर कमिटीको घोषणा पत्र सार्वजनिक देशैभर एमालेको विजय सुनिश्चित – नेता पाण्डे

इनेप्लिज २०७४ वैशाख २५ गते १५:५६ मा प्रकाशित

खोलेसिमल, चितवन २५ बैसाख ।
नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले यसपटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले देशैभर विजय हुने सुनिश्चित रहेको बताएका छन् । एमालेको राष्ट्रियता र विकासको अग्रगामी नीतिका कारण स्थानीय निर्वाचनमा भारी बहुमतका साथ एमाले विजय हुने उनले बताए । नेकपा एमाले कालिका नगर कमिटीले आज कालिका ६ क्लवचोकमा आयोजना गरेको नगर स्तरीय घोषणा पत्र सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले राष्ट्रिय रुपमा नेकपा एमालेसंग डराएर सत्ताधारी दलहरुको गठबन्धन शुरु भएको उनले बताए ।

यो सरकार अरुकै बैसाखी टेकेर अगाडि बढ्दै –
एमाले सबैभन्दा ठूलो दल बन्ने डरले जस्तोसुकै खालको गठबन्धन गर्न पनि सत्तापक्ष आतुर रहेको उनको भनाई थियो । सरकारबाट बाहिरिएको राप्रपा पनि अब सत्तापक्षसंगै गठबन्धन गरेर जाने खुलासा गर्दै उनले आफ्नो टेक्ने खुट्टा नभएपछि यो सरकार अरुकै बैसाखी टेकेर भएपनि अगाडि बढ्न लागेको उनले बताए । यो कुण्डली नमिलेको गठबन्धन एमालेको विरुद्धमा एक्लै एक्लै लड्न नसकेर हतास मानसिकतामा अहिलेको गठबन्धन गर्ने अवस्थामा सरकार पुगेको समेत उनले बताए । कांग्रेस सभापती देउवाले हिजो देश चलाउन नसकेर राजाको पाउँमा चढाएर देशलाई बर्बादी तर्फ लगेका थिए भने अहिले उनले चुनाव जित्ने बहानामा सबै कुरा प्रचण्डलाई चढाउन पछी नपरेको पाण्डेले बताए ।

जनता एमालेलाई मतदान गर्न आतुर –
देशैभर एमालेको राष्ट्रियता देखेर जनमत बढेको भन्दै देशको मुहार फेर्ने र विकास गर्ने पार्टी एमाले मात्रै भएकोले जनताले एमालेलाई मतदान गरी विजय गराउन आतुर रहेको उनले बताए । स्थानीय तहमा प्राप्त करको ५० प्रतिशत रकम स्थानीय तहमै पठाउने र स्थानीय तह मजबुत बनाई विकासको लहर ल्याउन आफु र आफ्नो पार्टी लागिपरेको समेत पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले बताए ।

चितवनका सबै तह एमालेले जित्ने –
देशैभर एमालेको जनलहर बढेको भन्दै उनले चितवनको विकास गर्ने पार्टी नेकपा एमाले भएकोले चितवनका महानगरपालिका सहित रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेको विजय सुनिश्चित रहेको उनले बताएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले मुलुककै महत्वपूर्ण जिल्लाको रुपमा रहेको चितवनमा एमालेको जीत सुनिश्चित देखेर सत्ताधारी गठबन्धन संयुक्त रुपमा चुनावमा जान लागेको समेत उनले बताए । पूर्वी चितवनकै महत्वपूर्ण यस कालिका नगरपालिका क्षेत्रमा सम्भावना बोकेको पर्यटकीय क्षेत्र, कृषि, औद्योगिक क्षेत्रको उचित व्यवस्थापन र स्थापना गरी एक घर एक रोजगारको सिर्जना गर्न सकिने भएकोले सोही अनुसार नेकपा एमाले अगाडि बढेको भन्दै उनले थारु, चेपाङ लगायत विभिन्न जनजातीको भेषभुषा, रहनसहन, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्दै यस नगरपालिकामा एमालेले विजय हासिल गरेपछि तत्काल पुर्जा विहिन वस्तीका बासिन्दालाई पुर्जा उपलब्ध गराई व्यवस्थित नगरपालिका बनाईने समेत उनले बताए । “हाम्रो कालिका, राम्रो कालिका” बनाउने – मेयर उम्मेदवार श्रेष्ठ


कार्यक्रममा मेयरका उम्मेदवार गोपी श्रेष्ठले नेकपा एमालेले नगरवासीको गाँस, बाँस, कपासको ग्यारेन्टी गर्दैै अगाडि बढ्ने बताए । स्थानीय युवाहरुलाई विदेश पलायन हुन बाट रोक्ने योजनाका साथ छिटो भन्दा छिटो औद्योगिक क्षेत्र स्थापना गरी रोजगारीको सिर्जना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताए । भूमिहिन, सुकुम्बासीलाई पुर्जा, नगरवासीलाई निशुल्क स्वास्थ्य शिक्षा त्यस्तैगरी सडक, ढल, विद्युतको पहुँच स्थानीयसम्म पु¥याई हाम्रो कालिका राम्रो कालिका बनाउन नेकपा एमालेलाई विजय गराउन समेत उनले अनुरोध गरे ।

एमालेको मोटरसाईकल ¥याली –
सो कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारी, नगर इञ्चार्ज जयचन्द्र प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै नेकपा एमाले कालिका नगरपालिका वडा नं. ५ को आयोजनामा साविक पदमपुरमा र वडा नं. ६ को आयोजनामा साविक जुटपानीमा मोटरसाइकल ¥याली गरिएको थियो । मेयरका उम्मेदवार गोपी श्रेष्ठ र उपमेयरका उम्मेदवार कमला भट्टराई एवं वडा अध्यक्ष तथा सदस्यहरु सहितको मतदाता भेटघाट तथा प्रचार प्रसार कार्यक्रम आज कालिका वडा नं. ९ को शक्तिखोर क्षेत्रमा भएको थियो ।

प्रतिक्रिया