काठमाडौँ , चैत २३–खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मध्यरातमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन खनिएको सडकको खाल्डो पुरिएको छ ।
मेलम्चीको पाइप गाड्न सडकमा खनिएको खाल्डोमा सवारी साधन खस्ने गरेको जनगुनासो व्यापक मात्रामा आउन थालेपछि मन्त्री शाही गएराती अनुगमनका लागि मध्य रातसम्म सडकमा पुगेका हुन् ।
मन्त्री शाहीले अनुगमनका क्रममा सडकमा खाल्डो देखेपछि मध्यरातमै पुर्न निर्देशन दिए |
मन्त्री शाहीले निर्देशन दिंदै भने,” पाइप बिछ्याउनका लागि सडकमा खनिएको खाल्डाहरु तत्कालै पुर्ने व्यबस्था गर्नुस् । जनतालाई सास्ती हुने अवस्था आउँन दिन हुँदैन । रातभरी काम गरिरहनु भएको छ । उज्यालो हुँदा जनताले सडकमा खाल्डो छ भन्ने थाहा नपाउन । खाल्डोमा सवारी साधन खस्यो भन्ने समाचार सुन्ने अवस्था नआओस् । ”
उनले विकास गर्दा केही समस्या आउने भन्दै जनताको गुनासो र समस्यालाई पनि बुझेर अघि बढ्नु पर्ने बताए ।
मेलम्ची खानेपानीको प्रयोजनका लागि सडकमा पाइप गाड्न खनिएको खाल्डो पुरिसकेपछि सडक पिच गर्न मन्त्रालयले सडकलाई बजेट दिइसकेको बताउदै काठमाडौँका जनताले केही समयपछि धूलोको सास्तीबाट मुक्ति पाउने बताए ।
मेलम्ची खानेपानी दशैँ अघिनै ल्याउनका लागि आफू निरन्तर खटिरहने भन्दै मन्त्री शाहीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको धारणा राखे ।
प्रतिक्रिया