भर्जिनिया,अमेरिका,मार्च २८ ।
आगामी अप्रिल २२ तारिख शनिवारका दिन यहाँ सम्पन्न हुन लागेको नेपाली जनसम्पर्क समिति,अमेरिकाको वार्षिक साधारण सभाको तयारी तीव्र रुपमा जारी रहेको छ । हाल आन्तरिक व्यवस्थापनका कार्यहरुलाई अघि बढाई रहेको साधारण सभा मूल व्यवस्थापन समितिका संयोजक एवं समितिका उप सभापति केशब बरालले जानकारी दिनु भएको छ । समितिका सभापति आनन्द विष्ट हाल नेपाल गएका कारण वरिष्ठ उप सभापति धनन्जय नरसिंह केसीले कार्यवाहक सभापतिको रुपमा जिम्मेवारी बहन गरिरहनु भएको छ ।
कार्यवाहक सभापति केसीका अनुसार,अहिले अमेरिकाभरका कांग्रेसजन आसन्न साधारण सभाका लागि निकै उत्साहित भएका छन् । दैनिक सम्पर्क गर्ने सदस्यहरु अहिले होटल बुकिङ्ग र हवाई टिकटको व्यवस्थापन गरिरहेको आफुहरुलाई जानकारी प्राप्त भएको कार्यवाहक सभापति केसीले बताएका छन् । साधारण सभा संयोजक बरालले पनि अहिले दैनिक रुपमा होटल बुक गर्ने र साधारण सभामा सहभागिताका लागि सुनिश्चितता गर्ने काम भैरहेको छ । अप्रिल २ तारिखसम्म साधारण सभा हुने होटलमा बस्नका लागि कोठा बुक गर्दा सहुलियत दरमा प्राप्त हुने भन्दै अहिले नै होटल बुक गर्न समेत बरालले आग्रह गर्नुभयो । उता समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले पनि साधारण सभा सफल बनाउन केन्द्रीय समिति र च्याप्टर समिति बीच आफुहरुले नियमित बैठक र छलफल गरी तयारी अघि बढाईएको बताएका छन् । ‘साथीहरु धेरै उत्साहित हुनुहुन्छ,साधारण सभा सबै मिलेर सफल बनाउनु पर्छ र संस्थालाई भावी दिनमा कसरी अघि बढाउने भन्ने बारेमा एकै थलोमा बसेर छलफल गर्न साथीहरु विधान संशोधन,कार्यक्रम व्यवस्थापन,सहभागिता,खानपीन जस्ता तयारीमा जुट्नु भएको छ’महासचिव नेम्वाङ्गले भने । साधारण सभामा अमेरिकामा रहेका समितिका सबै सदस्य सहभागी हुने छन् । केन्द्रीय समितिले साधारण सभामा समितिका केन्द्रीय प्रतिनिधिहरु,साधारण सदस्यहरु लगायत सबै शुभेच्छुकहरुलाई सहभागी गराउने गरी निर्णय गरेको छ ।
यसैबीच विधान समितिका संयोजक एवं केन्द्रीय सदस्य पिताम्बर भुषालले विधान समितिका तर्फबाट विद्यमान विधानमा के कस्तो संशोधन गर्नुपर्ने हो त्यसका बारे सुझाव पेश गर्न समितका सबै च्याप्टरका सभापति,केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समितिलाई पत्राचार गरि सुझाव संकलन गरिरहेको जानकारी दिएका छन् । ‘सबै सदस्यले सम्बन्धित च्याप्टर मार्फत विधान समितिलाई सुझाव दिन सक्नु हुनेछ,हामी संगठनको विधान पूर्ण बनाउने बारे छलफल गरिरहेका छौं’ भुषालले भने । आर्थिक समितिको गठन यसैबीच समितिको साधारण सभा सफल बनाउन आर्थिक श्रोत जुटाउने उद्देश्यले केन्द्रीय सदस्य गोपाल विश्वकर्मालाई संयोजक तोकी केन्द्रीय समितिले जिम्मेवारी प्रदान गरेको छ । केन्द्रीय समितिले दिएको जिम्मेवारी पुरा गर्न आफु पूर्ण प्रतिवद्ध रहेको संयोजक विश्वकर्माले जानकारी दिनु भएको छ ।
आसन्न साधारण सभा सम्पन्न गर्नका लागि सबैभन्दा महत्वपूर्ण पाटो भनेको नै आर्थिक व्यवस्थापन हो । तसर्थ यो चुनौतीलाई पनि मैले समितिले मप्रति गरेको विश्वासका रुपमा लिएको छु र सबैसंग सल्लाह र सम्पर्क गरेर श्रोत जुटाउने प्रयास गरिरहेका छौं’ विश्वकर्माले भने । विश्वकर्माले आफुले पाँच सदस्यीय आर्थिक समिति गठन गरी जिम्मेवारी प्रदान गरेको बताएका छन् | समितिमा केन्द्रीय सदस्यहरु गौतम दाहाल,अमृत भट्टराई र चन्द्रकान्त धिताल र राजेश थापा रहेका छन् । साधारण सभामा आर्थिक संकलनका लागि आफुले केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका प्रत्येक पदाधिकारी र सदस्यसहित समितिका सबै च्याप्टरले न्यूनतम दुई सय डलर योगदान गर्नुपर्ने प्रस्ताव पारित गराईएको जानकारी दिएका छन् । यसैगरी केन्द्रीय समितिका सबै सल्लाहकार प्रत्येकले एक सय डलर सहयोग गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
प्रतिक्रिया