तीन सन्तानले आँखा नदेखेपछि पिरको भारी बोक्दै आमा जमुना

इनेप्लिज २०७३ फागुन ३० गते ७:४० मा प्रकाशित

रामपुर (पाल्पा), ३० फागुन । चारजना सन्तानको आमा बन्नुभएकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ ।

उहाँका दुई छोरा र दुई छोरीमध्ये तीनजनाको आँखाले काम नगरेपछि कुमालको जीवनमा सुखको साटो पिडाको भार थापिएको छ । कान्छी छोरी भने सबलाङ्ग छिन् ।
चार सन्तानमध्ये जेठी छोरी अहिले १५ वर्ष पुगिन्, १० वर्षको उमेर पुगेपछि दाहिने आँखाले देख्न छाडेपछि आमा जमुनाले धेरै ठाउँमा औषधि उपचार गराएपनि निको भएन । उनी अहिले दृष्टिविहीनले अध्ययन गर्ने मदनपोखराको दमकडा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छिन् ।

जेठो छोरा र कान्छो छोराको पनि समस्या जेठी छोरीको जस्तै छ । यिनीहरुको पनि दाहिने आँखाले काम गर्दैन । कुमाल भन्नुहुन्छ – “जन्मँदा केही समस्या थिएन राम्रैसँग देख्थे, धेरै पछि आएरमात्र यस्तो समस्या देखियो” – “उपचारका लागि तीनजनालाई दुःख गरेर रु तीन लाख जति खर्च गरेँ, निको भएन ।”

“पारिवारिक सुखका लागि सन्तान जन्माए, सुख पाउनु त कहाँ हो कहाँ, चिन्ता र पिरको भारीले रातदिन सताएको छ” – उहाँले भन्नुभयो । कमजोर आर्थिक अबस्थाले ज्याला मजदुरी गर्नुपर्ने बाध्यताले थप उपचार गराउन नसकेको र उपचारमा सहयोगी हातहरु कतैबाट पनि नउठेको उहाँको गुनासो छ ।

जेठो छोरा विवश कुमाल अहिले १२ वर्षका भए, उनी पनि एक वर्षदेखि आँखाको समस्याले ग्रसित छन् । १० वर्षका कान्छो छोरा किरण कुमालको समस्या पनि छ ।

“जन्मँदा शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त थिए, पछि एकाएक तीनैजनाको एउटै समस्या देखाप¥यो” – आमा कुमालले भन्नुभयो । कान्छी छोरीमात्र तन्दुरुस्त देखिन्छिन् ।

“ऋण काढेर उपचार गर्दा पनि निको भएन, न त धन रह्यो न त सन्तानको अवस्थामा सुधार आयो” – कुमालले बिलौना गर्नुभयो । छोराछोरीको उपचार खर्च र लालनपालनका लागि निकै समस्या परेपछि श्रीमान्लाई विदेश पठाएँ, श्रीमान्ले विदेशमा कमाएको रकम उपचारमै मात्र सीमित रह्यो । विदेशमा कम्पनी बन्द भएपछि श्रीमानले बीचमै घर फर्कनुपरेको पीडा पनि उहाँले पोख्नुभयो । रासस

प्रतिक्रिया