सरकारले चुनावको मिति तोकेलगत्तै मधेसी मोर्चाद्धारा आन्दोलन घोषणा

इनेप्लिज २०७३ फागुन ९ गते १५:४८ मा प्रकाशित

काठमाडौं, ९ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

आफ्नो असहमतिका बाबजुद सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै सोमबार साँझ बसेको मोर्चाको बैठकले जिल्ला सदरमुकाममा भण्डाफोरदेखि मधेस बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकपछि मोर्चाद्धारा जारी विज्ञप्तिमा फागुन १० गते भोलि मधेसका हाट बजार र जिल्ला सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने, फागुन ११ गते मधेस बन्द गर्ने र फागुन १२ देखि १५ गतेसम्म गाउँ, नगर तथा सदरमुकाममा भण्डाफोर गर्ने उल्लेख छ ।

आन्दोलनका थप कार्यक्रमहरु पछि सार्वजनिक गर्दै जाने विज्ञप्तिमा जनाइएको छ ।

बैठकले सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै संविधान संशोधन अघि घोषणा गरेको चुनावलाई बहिष्कार गर्ने र वैशाख ३१ गते तोकिएको निर्वाचनलाई कुनै हालतमा हुन नदिने निर्णय समेत गरेको छ ।

मोर्चाले पहिला संविधान संशोधनमार्फत मधेसका माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै निर्वाचन घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ । तर, सरकारले संविधान संशोधन र निर्वाचन सँगसँगै अगाडि बढाउने योजना अनुसार मिति घोषणा गरेपछि मोर्चा आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया