सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:०२
वासिङटन डिसी 15:17

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

इनेप्लिज २०७३ माघ १९ गते ९:२६ मा प्रकाशित

काठमाडौँ, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भयो ।

समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ठ व्यक्ति त्यहाँ पुगी वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो ।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी उहाँका प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेखित छ ।

वसन्त पञ्चमीको दिनबाट नयाँ ऋतुको सुरुवात हुने त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने विश्वास रहिआएको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणी कर्मचारी र सुरक्षा निकायका प्रमुख पनि वसन्त श्रवणका लागि हनुमानढोका पुग्नुभएको थियो ।

हनुमानढोका दसँै घरका मूल पुरोहित पुजारी पण्डित अर्यालले वसन्त पञ्चमीको महिमासम्बन्धी १२ वटा श्लोक वाचन गर्नुभएको थियो । वसन्तश्रवण भइरहँदा नेपाली परम्परागत लोकबाजा पञ्चै बाजा बजाइएको थियो । त्यस अवसरमा नेपाली सेनाबाट मङ्गल धुन समेत प्रस्तुत भएको थियो ।

सो समारोहको व्यवस्थापन पुरातत्व विभाग, कौशितोषाखाना कार्यालय, हनुमानढोका दरबार हेरचाह अड्डा र गृह मन्त्रालयले आयोजना गरेको हो ।

समारोहपछि गृहमन्त्रीले आगामी दिनमा मूल पुरोहितलाई वसन्त श्रवणको महिमाबारे नेपाली भाषामा बुझिने गरी प्रस्ततु गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया