सोमबार, जेठ २ २०७९
काठमाडौं २१:२२
वासिङटन डिसी 11:37

निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गरौँ : सभामुख घर्ती

इनेप्लिज २०७३ माघ १५ गते १३:२२ मा प्रकाशित

लेटाङ (मोरङ), १५ माघ । सभामुख ओनसरी घर्तीले विगतका आन्दोलनले स्थापित गरेका हक अधिकारलाई संस्थागत गर्न राजनीतिक दलले निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल मगर विद्यार्थी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकार प्राप्तीसँग सम्बन्धित गुनासा र असन्तुष्टिलाई सहमतिका आधारमा संवैधानिक तवरले सम्बोधन गर्न सुझाव दिनुभयो ।

नेपाली जनताका हक अधिकारसँग जोडिएका प्रावधानलाई कार्यान्वयन गराउन चनाखोका साथ राजनीतिक दलका नेतालाई घच्घच्याउन आवश्यक रहेको बताउँदै उहाँले सामाजिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपाललाई संविधान कार्यान्वयन गरेर अझ सुन्दर बनाउनुपर्छ भन्नुभयो ।

“संविधानले पहिलोपटक महिलाका विशेषाधिकार संरक्षण गरेको हुनाले देशमा ‘छोरीले जितेका’ छन्”–उहाँले भन्नुभयो । नेपाल सांस्कृतिक तथा भाषिक हिसाबले धनी भएको हुनाले पर्यटनको सम्भावना पनि निकै बोकेको धारणा राख्दै उहाँले हाम्रा सबै श्रम, पसिना देशको विकास र हितका लागि खर्चनुपर्छ भन्नुभयो ।

सङ्घका अध्यक्ष दीपा आलेले नवौँ महाधिवेशनमा मुलुकका ६२ जिल्लाबाट ४०० प्रतिनिधिले भाग लिएको जानकारी दिनुभयो । महासचिव गोमबहादुर रानाले तीन दिनसम्म चल्ने अधिवेशनले ६९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने बताउनुभयो ।

‘अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलनः वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेशन’ मूल नारा रहेको महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले दुई वर्ष सङ्गठन हाँक्नेछ ।

उद्घाटन समारोह अघि मगर समुदायको वेशभूषा, रहनसहन र संस्कृति झल्कने झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । सभामुख घर्तीले समारोहमा सांसद् डिकबहादुर लिम्बूलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया