बिहीबार, जेठ ५ २०७९
काठमाडौं २३:२९
वासिङटन डिसी 13:44

नेपाल–इन्डो क्रिकेटमा गोरखपुरसँग धनगढी पराजित

इनेप्लिज २०७३ माघ १३ गते १२:५० मा प्रकाशित

कृष्णनगर, १३ माघ । जय नेपाल स्पोर्टस क्लबको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा नेपाल–इण्डो क्रिकेट प्रतियोगिताको १७औं संस्करण संचालन भएको छ ।

उद्घाटन खेल धनगढी र गोरखपुरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ रोजेको धनगढी क्रिकेट क्लबले १३.५ ओभरमा ५५ रन बनाउँदै अलआउट हुन पुग्यो ।

जवाफी व्याटिङमा उत्रिएको गोरखपुर क्रिकेट क्लबले ७.५ ओभरमा ५ विकेटको नोक्सानी बेहोर्दै जीत हासिल ग-यो । गोरखपुरका राजबीर र कबीरले तीन तीन विकेट झारेका थिए ।

गोरखपुरकै मुकेश सिंहले २२ रन बनाउँदै म्यान अफ द म्याच बने । यस्तै सुहेल खानले १४ रन बनाउन सफल भए । त्यसैगरी धनगढीका महेश अधिकारले ४ ओभरमा १७ रन जोरेका थिए । भने धनगढीकै यम कार्कीले १७ र विजय रानाले ९ रन बनाएका थिए ।

कपिलवस्तु क्षेत्रनम्बर ५ का सांसद अभिषेकप्रताप शाहले उद्घाटन गरेको खेलमा नेपाल र भारतका गरी कूल १२ टिमले भाग लिएको आयोजक क्लबका प्रतिनिधि गिरधारीलाल शर्माले बताउनुभयो । नेपालका ८ र भारतका ४ टिम रहेको उहाँले जानकारी दिनुभयो ।

कपिलवस्तुकै सबैभन्दा पुरानो र ठूलो क्रिकेट प्रतियोगिताका लागि खेलमैदान निकै आकर्षक बनाइएको छ । खेलहरू म्याटमा खेलाइएको आयोजक क्लबका अध्यक्ष सुहेल खानले जानकारी दिनुभयो । खेलहरू टी–२० फम्र्याटमा खेलाएको छ, उहाँले भन्नुभयो ।

प्रतियोगितामा सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गोरखपुर, धनगढी, नेपालगञ्ज र विराटनगर छन् । समूह ‘बी’ मा भैरहवा, चितवन, कृष्णनगर र बलरामपुर रहेका छन् । भने समूह ‘सी’ अन्तर्गत वीरगञ्ज, लखनउ, अजमगढ र दाङको सहभागिता रहने अध्यक्ष खानले बताउनुभयो ।

नकआउट सिस्टममा खेलाइने प्रतियोगितामा विहीबार अर्थात माघ १३ गते बिहान नेपालगञ्ज र विराटनगर तथा दिउँसो कृष्णनगर र बलरामपुरबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

यस्तै माघ १४ गते चितवन र भैरहवा, माघ १५ गते बिहान अजमगढ र दाङ तथा दिउँसो वीरगञ्ज र लखनउबीच खेल हुने आयोजकका प्रतिनिधि गिरधारीलालले जनाउनुभयो । खेल माघ २० गतेसम्म हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले एक लाख तथा उपबिजेताले ५० हजार पाउनेछन् । त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुई हजारसहित आकर्षक गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया