बिहीबार, असार १० २०७८
काठमाडौं ०१:५६
वासिङटन डिसी 16:11

क्यालिफोर्नियाका उच्च सरकारी अधिकारीसंग नेपाली समुदायको अन्तरक्रिया

इनेप्लिज २०७३ माघ १२ गते २०:५५ मा प्रकाशित

अमेरिका, २४ जनवरी / गत आइतबार क्यालिफोर्निया राज्यको दक्षिण भागमा बस्ने नेपाली समुदायले राज्यका स्टेट ट्रेजरर जोन चियांगको साथमा अन्तरक्रिया कार्यक्रम गरेकाछन । यस भागमा नेपाली समुदायले उच्च सरकारी अधिकारीका साथ गरेको यो प्रथम भेटघाट हो । विश्व अर्थतन्त्रको छैटौँ स्थान ओगटेको क्यालिफोर्निया राज्यका स्टेट ट्रेजररले नेपाली समुदाय, आर्टेसिया सहरका मेयर अलि साजिद ताज, आर्टेसिया सहरका काउन्सिल मेम्बर भिक्टर मनालो, सहरका अधिकारी र कर्मचारी तथा अन्य नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गरेका थिए ।


“स्टेट ट्रेजरर चियांगको साथमा गरिएको कार्यक्रम नेपाली समुदायले पहिले गरिने कार्यक्रम भन्दा धेरैनै प्रभावकारी रहेको थियो ।“,जन सम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सदस्य हरिराम पन्त बताउछन ।


यस क्षेत्रमा नेपाली समुदायको जनसङ्ख्या बढे सँगै उच्चस्तरीय नेताहरूको ध्यान नेपाली समुदायतर्फ बढ्न थालेको छ । यो कार्यक्रम नेपाली समुदायको आवाज सुनिने र आफ्ना आवाज सुनाउने एक थलोको रूपमा समेत रहेको थियो ।

 


कार्य्रक्रममा सम्बोधन गर्दै स्टेट ट्रेजरर चियांगले आफ्ना माता पिताले पचासको दशकमा एउटा नयाँ आप्रबासीको रूपमा सङ्घर्ष गर्दै आफ्ना बच्चाहरू सफल बनाउने सोचाईगरेको स्मरण गर्दै “हामी सबैले सपना देख्ने र कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।‘ उनी अगाडी थप्छन् “यदि तपाईहरु साना व्यवसाय सुरुवात गर्दै हुनुहुन्छ भने म अथवा मेरा सहायकलाई भेट्नुस उनीहरूले निश्चितरुपमा तपाईँलाई सहयोग गर्नेछन ।“
“अमेरिकामा नेपाली समुदायको इतिहास धेरै लामो नभएता पनि छोटो समयमा नै क्रियाशील तथा गतिशील रूपमा अगाडी बढेको छ ।“ नेपाली समुदायको बारेमा छोटो परिचय दिँदै क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लंग बिचका डीन डा. जित जोशीले जानकारी दिए ।
अवैतनिक बाणिज्यदुत ऋषि ढकालले साउदर्न क्यालिफोर्नियामा नेपाली समुदायको आर्थिक क्षेत्रमा पुरयाएको योगदानको बारेमा चर्चा गरे । आर्टेसिया सहरका प्लानिंग कमिश्नर तथा श्री पशुपतिनाथ फाउनडेशनका अध्यक्ष भक्त थापाले यस क्षेत्रमा यस्तो प्रकारको कार्यक्रम गर्नको लागि सहयोगी र स्पोन्सरहरुलाई धन्यवाद प्रदान गरे ।
साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि नेपाल पर्यटन बोर्डका पर्यटनदुत रामेश्वर भण्डारीले नेपाली समुदाय ड्राईभिंग लाइसेन्स दिने किताब र परीक्षा नेपाली भाषामा दिन पाउने मान्यता कुरामा धेरै चासो दिएर बसेको जानकारी दिए । नेपाली समुदायले स्टेट ट्रेजररसंग यस्तो प्रकारको कार्यक्रम गर्न पाउनु गौरवको विषय भएको पर्यटनदुत भण्डारीले जानकारी दिए ।
वासिङ्टन र मेरिल्याण्ड राज्यमा नेपाली भाषामा ड्राईभिंग लाइसेन्स दिने व्यवस्था भइसकेको अवस्थामा क्यालिफोर्नियामा मात्र नभएर अमेरिकाका बाँकी राज्यमा रहेका नेपाली समुदाय र संघसंस्थाले मिलेर यसको व्यवस्था गर्न पहल गर्दै यस्ता कार्यक्रम मार्फत अमेरिकामा सामाजिकीकरण गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया