मंगलबार, असार ८ २०७८
काठमाडौं १०:४५
वासिङटन डिसी 01:00

ट्रम्पद्वारा फेब्रुअरीमा वार्ता गर्न नेतान्याहुलाई आह्वान

इनेप्लिज २०७३ माघ १० गते १२:२४ मा प्रकाशित

जेरुसेलम, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई भेटवार्ताका लागि अमेरिका बोलाउनुभएको छ ।

आइतबार भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो फेब्रुअरीको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई निमन्त्रणा दिनुभएको हो ।

उहाँहरुबीच नजिकबाट लगातार संवाद गरिरहने समझदारी पनि भएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

इरान लगायतका क्षेत्रीय र साझा चासोका विषयमा समान धारणा बनाउँदै सहकार्यका साथ अगाडि बढ्ने बारेमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा आगामी फेब्रुअरीको सुरुमै ह्वाइटहाउसमा भेटवार्ताका लागि ट्रम्पले नेतान्याहुलाई आमन्त्रण गरेको पनि लेखिएको छ ।

नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि नेतान्याहुले राष्ट्रपति ट्रम्पसँग नजिक रहेर काम गर्ने चाहना व्यक्त गरेको उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पले इजरायलले अहिले खेलिरहेको भूमिकाको दह्रो समर्थन गर्दै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने आश्वासन दिनुभएको छ । – एएफपी

प्रतिक्रिया