शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:०४
वासिङटन डिसी 08:19

संविधान संशोधनले सबैको समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

इनेप्लिज २०७३ माघ ९ गते १३:२८ मा प्रकाशित

लहान, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनले मात्र मधेसी, आदिवासी, जनजाति सबैको समस्या समाधान हुने भएकाले ससंद्मा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य विश्वनाथ साहका आमा सागरदेवी साहको १३ औँ पूण्यतिथिको अवसरमा गोलबजारमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातिसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकाले शान्ति नचाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाउनुभयो ।

“देशलाई विभाजित गरेर होइन, एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो ढङ्गले उठाउन सक्नेछौँ, मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन”–उहाँले भन्नुभयो, “नेपालको संस्कृति, भूगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँसिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्ट्याएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।”

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेस केन्द्रित दलको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्नुपर्ने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री दाहालले आजै कर्जन्हाको वस्तीपुरमा जनयुद्धका क्रममा सहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ता रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गर्नुभएको थियो ।

यसैगरी आजै प्रधानमन्त्री दाहालले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीयस्थल कुम्भीखाँडी दह क्षेत्रको मर्मत तथा संरक्षणको शिलान्यास समेत गर्नुभयो ।

श्रद्धाञ्जलिसभामा कानुनमन्त्री अजयशङ्कर नायक, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत माओवादी नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया