बुधबार, असार ९ २०७८
काठमाडौं २३:४७
वासिङटन डिसी 14:02

सीमामा बस्ने नेपालीले सीमाको रक्षा गरेका छन् : मन्त्री खाँण

इनेप्लिज २०७३ माघ ८ गते १४:३५ मा प्रकाशित

धनगढी, ८ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले उत्तरी र दक्षिणी सीमा क्षेत्रमा नेपालीले सीमाको रक्षा गरेर बसेको बताउनुभएको छ ।

नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै रक्षामन्त्री खाँणले सबै नेपाली राष्ट्रवादी हुन्, कसैले कसैलाई होच्याउने काम गर्नु हुँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो – “नेपालमा चीन र भारत विरोधी गतिविधि हुन दिनुहुँदैन, त्यसैमा नेपालको सुरक्षा र राष्ट्रहित छ ।”

राज्यशक्तिको स्रोत नेपाली जनता भएकाले कुनै निरङ्कुशता वा तानाशाही व्यवस्था फर्किएर आउन नसक्ने सुनिश्चितता नेपालको संविधानले गरेको उहाँले उल्लेख गर्नुभयो ।

जनतामा निहीत सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भू–अखण्डता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकतालाई कसैले बदल्न नसक्ने संविधानको अपरिवर्तनीय व्यवस्था रहेको उल्लेख गर्दै उहाँले यी बाहेकका अरु धेरै कुरा बदल्न सकिने बताउनुभयो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रतनबहादुर कठायतले संस्थाको आव २०७२-७३को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सीमित बैंकिङ कारोबार गर्दै आएको नवजीवन सहकारी संस्थाले आव २०७२-७३ को आर्थिक कारोबारबाट रु छ करोड ८७ लाख २४ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ । संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग र उपभोक्ता कर्जालगायतका शीर्षकमा सेयरधनीलाई कर्जा प्रवाह गर्दै आएको छ ।

संस्थाको आव २०७१-७२ सम्म लगानीमा रहिरहेको कर्जा र सापटी रकम रु एक अर्ब ३७ करोड ६८ लाख ६० हजार रहेकामा आव २०७२-७३ मा ३४ दशमलव १७ प्रतिशतले वृद्धि भई असार मसान्तसम्ममा लगानीमा रहिरहेको कर्जा रु एक अर्ब ८४ करोड ७३ लाख ८२ हजार पुगेको छ ।

प्रतिक्रिया