चीनभन्दा अगाडि नेपाली सेनाले अमेरिकी सेनासँग सुरु गर्यो एक महिने संयुक्त सैन्य अभ्यास

इनेप्लिज २०७३ माघ ४ गते १३:०४ मा प्रकाशित

काठमाडौं, ४ माघ । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाको श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाबीच अभ्यास ब्यालेनस नेल १७–३०११ सञ्चालन भएको हो । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आईरहेको छ ।

उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । सो संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली पुस २८ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो ।

यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ ।

साथै, यस्ता सहकार्यहरुबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

चीनसँग अर्काे महिना हुने

यसैबीच इतिहासमै पहिलोपटक अर्काे महिना (फ्रेबअरी) नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यास हुँदैछ । आतंकवादसँग जुध्ने तरिकाबारे यो अभ्यास फोकस हुनेछ ।

प्रतिक्रिया