शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:१९
वासिङटन डिसी 07:34

प्रयोगशालालाई सुविधासम्पन्न बनाउनुपर्ने : मन्त्री थापा

इनेप्लिज २०७३ माघ २ गते १२:४९ मा प्रकाशित

काठमाडौँ, २ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यका अन्य सेवासँगै प्रयोगशालालाई पनि सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । यसका लागि पूर्वाधार विकास र जनशक्तिको सँगै विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन ‘नेशनल सेन्टर फर इन्फेक्सन डिजिज’ को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले प्रयोगशालालाई सबैको पहुँचमा पु-याउन पाँच अञ्चल अस्पतालमा प्रयोगशाला सुरु गर्ने र सुरु भएको अस्पतालमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कोसी अञ्चल अस्पताल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल, सेती अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालालाई बिस्तार गर्ने योजना रहेको र प्रदेश नम्बर ६ मा कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी, १३५ स्वास्थ्य केन्द्रमा पनि ल्याब सेवा सुरु गर्ने र सुरु भएका स्थानमा अझ स्तरीय सेवा दिने तयारी मन्त्रालयले गरेको मन्त्री थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग रु ६० अर्ब हुने हो भने स्वास्थ्य सेवाका लागि सम्पूर्ण प्रयोगशालासहितको सुविधा बिस्तार गर्न सकिन्छ । हामीले सोहीअनुसार काम गर्ने हो भने स्वास्थ्यमा फड्को मार्न सकिन्छ ।”

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशिका डा गीता शाक्यले नयाँ भवनमा सङ्क्रामक रोगको निदान, अन्वेषण, अनुुसन्धान र प्रकोपको अनुसन्धान गर्ने काम हुने जानकारी दिनुभयो ।

सो भवनमा बिस्तारित परीपक्ष सेवामध्ये प्रकोपजन्य रोगको अनुसन्धानलाई समयसापेक्ष छिटो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदायक, अत्याधुनिक, वैज्ञानिक बायोसेफ्टी लेभल २ उपकरण जडान गरिएको मोबाइल प्रयोगशाला जडान गरिएको निर्देशक शाक्यले बताउनुभयो ।

विसं २०६९ फागुन १० गते शिलान्यास गरिएको सो भवन रु छ करोड ९३ लाखको लगानीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया