मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:२४
वासिङटन डिसी 22:39

विविधताका हिसाबले नेपाल विश्वमै नमुना: सभामुख घर्ती

इनेप्लिज २०७३ माघ १ गते १३:४६ मा प्रकाशित

काठमाडौँ, १ माघ । सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताउनुभएको छ ।

थारु विद्यार्थी समाजले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको आज टँुडिखेलमा उद्घाटन गर्दै उहाँले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता भएको मुलुकका हिसाबले नेपाली विश्वमै नमुना रहेको छ, सम्पूर्ण नेपालले राष्ट्रिय पर्वका रुपमा माघे सङ्क्रान्ति मनाउनुले पनि यो कुरालाई पुष्टि गरेको छ ।”

सभामुख घर्तीले देशमा न्याय, सुशासन र समृद्धिको वातावरण बनाउन यो सांस्कृतिक पर्वले सबैमा योगदान पु¥याओस् भनी शुभकामना पनि व्यक्त गर्नुभयो ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सबैभन्दा पुरानो आदिवासी र उत्पीडनमा रहेको जातिका रुपमा रहेका थारु समुदाय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “एउटा जाति, भाषा, संस्कार र संस्कृतिलाई मात्र राष्ट्रियताको मान्यता दिने युगको अन्त्य भइसकेको छ, थारु जातिको बसोबास र थातथलो नटुक्र्याउने गरी प्रदेशको सीमाङ्कन हुनुपर्दछ, सङ्घीयता उत्पीडनमा परेका लागि हो भन्ने बुझ्न जरुरी छ ।”

नेकपा (एमाले)की नेत्री एवम् पूर्वसभासद् शान्ता चौधरीले आदिवासीलाई आश्वासन दिएर सत्तामा पुग्ने भ¥याङ बनाउने प्रवृत्ति अन्त्य हुन आवश्यक छ भन्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष चन्द्रप्रसाद चौधरीले थारु समुदाय शोषित पीडित अवस्थामा रहेर पनि अधिकार स्थापित गर्ने आन्दोलनमा एकताबद्ध हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपालको तराई–मधेसका प्रायः सबै जिल्लामा छरिएर रहेका थारु समुदायका खासगरी पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बाक्लो बसोबास छ । समारोहमा थारु समुदायको हकहित र अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

महोत्सवका क्रममा थारु समुदायको वेषभूषा, रहनसहन झल्कने झाँकी र नृत्य प्रस्तुत गरिनुका साथै मौलिक खानपानका कक्षसमेत राखिएको थियो । थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रुपमा माघीलाई लिने गर्दछन् ।

प्रतिक्रिया