शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:२१
वासिङटन डिसी 19:36

आज मकर सङ्क्रान्ति पर्व

इनेप्लिज २०७३ माघ १ गते १०:२६ मा प्रकाशित

विराटनगर, १ माघ । हिन्दू धर्मावलम्बीले आज मकर सङ्क्रान्ति पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यस पर्वको अवसरमा आज बिहानैदेखि पवित्र जलाशयमा स्नान ध्यान गरेर घरका देवीदेउताको पूजापाठ गरी पर्वको शुभारम्भ गरिएको छ । धनु राशिबाट सूर्य आजकै दिन मकर राशिमा प्रवेश गरेकाले यस पर्वलाई मकर सङ्क्रान्ति पर्व भन्ने गरिएको हो । यस पर्वलाई तिला सङ्क्रान्ति पर्व पनि भन्ने गरिन्छ ।

यस पर्वको अवसरमा देवीदेउतालाई तिल चढाएर पूजापाठ गर्नुका साथै तिलको लड्डु अनिवार्य रुपमा खाने गरिएको कारण ‘तिला सङ्क्रान्ति’ पर्व भन्ने गरिएको हो । मुलुकका विभिन्न समुदायमा यो पर्व आ–आफ्नै रीतिरिवाजको आधारमा मनाइने भएको भएपनि तिलका लड्डु सबै समुदायमा खाने गरिन्छ ।

मैथिल समुदायमा खिचडी, तिलका लड्डु, च्यूराका लड्डु खाने गरिन्छ । नेपाली भाषाभाषी समुदायले अनिवार्य रुपमा तरुलका साथै तिल र च्यूराका लड्डु खाने गर्छन् । थारु समुदायले यस पर्वलाई माघे सङ्क्रान्ति अर्थात माघी पर्वको रुपमा मनाउने गर्छन् । यस समुदायमा तिलका लड्डुका साथै मासु खाने पनि प्रचलन रहेको छ ।

सन्तानले सेवा गर्ने र हरेक आदेश पालना गर्ने भनेर वचन दिएपछि तिल र शख्खरको मिश्रण प्रसादका रुपमा अभिभावकले दिने गर्छन् र सोही अवसरमा सन्तानहरुले ढोगेर आर्शीवाद प्राप्त गर्छन् । यस पर्वको अवसरमा गरिबलाई अन्न र बस्त्र दान गरेपछि भगवान खुसी हुने भएकाले अन्न वस्त्र दान गर्ने र ब्राह्मणलाई भोजन गराउने पनि गरिन्छ ।

प्रतिक्रिया