विगत स्मरण गर्दै अञ्जु पन्तले भनिन्, ‘यो गीत अति मन पर्छ

इनेप्लिज २०७३ पुष २३ गते १०:३४ मा प्रकाशित

 

काठमाडौं । गायिका अञ्जु पन्तले एक्लो जीवन कष्टदायी हुने गरेको दुखेसो पोखेकी छिन् । ‘एकल नारीलाई समाजमा बाँच्न गाह्रो छ’, उनले भनिन्, ‘रक्सी पिएर श्रीमानले दुःख दिएको घटना पनि छ ।’

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै गायिका पन्तले भनिन्, ‘मलाई श्रीमानले धोका दिएको भन्न पनि मिल्ला । समयअनुसार जे हुनु थियो राम्रै भयो । समयको कुरा भन्नु पर्छ ।’ आफ्नो वैवाहिक जीवन विग्रिएका विषयमा सोधिएको जिसामा गायिका पन्तले खुलेर बोलिन् ।

आफ्नो वैवाहिक घरजम विग्रेको विषयमा धेरै समर्थकलाई थाहा रहेको उनले बताइन् । ‘यो कुरा कोट्याइ रहन पनि लाग्दैन’, आफ्नो विगत सम्झदै भनिन्, ‘उहाँको नयाँ संसार बसेको छ । सम्बन्धविच्छेद भएको एक वर्षभित्रै उहाँको विवाह भयो । छोरी पनि जन्मिएको छ ।’ आफ्ना पूर्व मनोजराजका विषयमा टिप्पणी गर्दै उनले भनिन्, ‘उहाँसँग भेटघाट हुँदैन । कार्यक्रमहरूमा भेट हुँन्छ । वात हुँदैन ।’

पारिवारिक समस्यालाई लिएर समर्थकहरूले आफूलाई तथानाम गाली गरेकोमा गायिका पन्तको साह्रै चित्त दुखेको रहेछ । उनले भनिन्, ‘मेरा समर्थकहरू सामाजिक सञ्जालमा लोग्ने छाडेको भनेर गाली गर्नु हुन्छ । तर मलाई केही लाग्दैन ।’

गायिका पन्तले आफूलाई विवाहको प्रस्ताव आइनै रहको खुलासा पनि गरिन् । भनिन्, ‘विवाहको प्रस्ताव आइरहन्छ । मलाई चाहनेहरू पनि धेरै छन् । विवाह गर्ने अहिलेसम्म सोँच छैन । काममा व्यस्त छु ।’

विवाहका विषयमा धेरै प्रश्न हुन थालेपछि गायिका पन्तले भनिन्, ‘टपिक’ चेञ्ज गर्नुपर्ला ।’ उनले आफ्ना पूर्वपति मनोजराजलाई कुनै पनि दोष दिन चाहिनन् । आफ्नो अन्तर्वार्ताभरि उनले मनोजको कुनै पनि कटु आलोचना गरिनन् । बरु मनोजराजको प्रशंसा मात्रै गरिन् ।

पारिवारिक समस्या भएपछि गायक एवम संगीतकार मनोजराजसँग सम्बन्धविच्छेद गरेर छोरीसँग बस्दै आएकी गायिका पन्तले अहिलेसम्म छ हजारभन्दा बढी गीतमा स्वर दिएको बताइन् । उनलाई आफूले गाएको गीतमध्ये मलाई बाँसुरीले रुवायो…साइँला नबजाउ बाँसुरी…’ बोलको गीत मन पर्दो रहेछ । आफ्ना सबै गीतको माया लाग्ने भए पनि यो गीतले मनको बेदना छोएको गायिका पन्तले बताइन् ।

प्रतिक्रिया