आइतबार, जेठ ३० २०७८
काठमाडौं २२:४२
वासिङटन डिसी 12:57

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा एमाले निकट खतिवडा विजयी

इनेप्लिज २०७३ पुष २३ गते ५:०६ मा प्रकाशित

काठमाडौं, २३ पुस । सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को अध्यक्षमा एमाले निकट सुवास खतिवडा निर्वाचित भएका छन् ।

राजधानीमा शनिबार बिहान सम्पन्न संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट अध्यक्षमा खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले एक सय ४२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस निकट किशोरजङ्ग थापाले एक सय ३२ मत ल्याए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए । २१ सदस्यीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट अर्जुन गिरी, महिला उपाध्यक्षमा कांग्रेस निकट शशिकला दाहाल, मधेसी उपाध्यक्षमा निमेष कर्ण र जनजाति उपाध्यक्षमा एमाले निकट अर्जुनकुमार राई विजय भएका छन् । महासचिवमा माओवादी केन्द्र निकट गोविन्द देवकोटा, सचिवमा एमाले निकट वन्दना दनुवार र कोषाध्यक्षमा माओवादी केन्द्र निकट लक्ष्मण खड्का निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक विजयी भएका छन् ।

प्रदेश अध्यक्षहरूमा अधिकांश सदस्यमा एमाले निकट उम्मेदवार विजयी भएका छन् । एक नम्बर प्रदेशमा एमाले निकट बच्चु नारायण श्रेष्ठ, २ मा एमाले निकट अशोक दत्त, ३ मा एमाले निकट कृष्णहरि घिमिरे, ४ मा एमाले निकट शान्ति गुरुङ, ५ मा कांग्रेस निकट केपी घिमिरे, ६ मा एमाले निकट रमेश गौतम र ७ मा कांग्रेस निकट दीर्घराज उपाध्याय प्रदेश अध्यक्षमा विजयी भएका छन् । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया