बुधबार, असार ९ २०७८
काठमाडौं ०४:४०
वासिङटन डिसी 18:55

कृषि पेसामा युवालाई आकर्षित गराउने सरकारको नीति छः प्रधानमन्त्री

इनेप्लिज २०७३ पुष १९ गते १२:३५ मा प्रकाशित

pmभद्रपुर, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कृषिमा गुणात्मक ढङ्गले उत्पादन वृद्धि गरी युवालाई आकर्षित गराउने सरकारको नीति रहेको बताउनुभएको छ ।

झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान–सुपर जोन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रको विकास गर्नकै लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले कृषि उत्पादन वृद्धिका लागि सातवटै प्रदेशमा सुपर जोन कार्यक्रम ल्याएको चर्चा गर्दै कैलालीमा गहुँ र झापामा धानका लागि सुपर जोन कार्यक्रम सुरु भइसकेको बताउनुभयो ।

कृषि क्षेत्रमा क्रान्ति ल्याउन नै सातवटै क्षेत्रमा सुपर जोन घोषणा भएको र यसलाई सफल बनाउन कृषि मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो –कृषि क्षेत्रको विकासका लागि प्रविधिलाई एकत्रित गरी अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले विगतको भन्दा अहिले केही उत्पादकत्व बढेकामा खुसी व्यक्त गर्दै कृषि उत्पादनको वृद्धिले नै मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकास हुने बताउनुभयो ।

मुलुकको समस्या समाधान गर्न प्रमुख राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरणमा छलफल भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो – “मुलकको समृद्धि र स्थायित्वका लागि पनि दलबीचको एकता आजको अपरिहार्य आवश्यक छ ।”

प्रधानमन्त्री दाहालले समाजिक न्याय र समानता सहितको नेपाल निर्माण गर्न संविधानको सर्वस्वीकार्य आवश्यक छ भन्दै तीव्र विकासको मार्गमा रहेको उत्तर चीन र दक्षिण भारतको बीचमा रहेको नेपालको विकास र समृद्धिका लागि सही नेतृत्वको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

राजनीतिक दलबीच समन्वय, सहकार्य, एकता र छलफल गरेर छिट्टै निर्वाचनको मिति घोषणा हुने भन्दै उहाँले झापाको केचना–चारआली मार्ग, मेची पुल र नेपालको सबै भन्दा होचो ठाउँ केचना कवलको विकास गर्न आफू गम्भीर भएको बताउनुभयो ।

सो अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण नगरी कृषिबाट अपेक्षित लाभ लिन नसक्ने बताउँदै परम्परागत कृषि प्रणालीबाट उत्पादन घट्ने र लागत बढ्ने भएकाले आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्दछ भन्नुभयो ।

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले दिगो शान्ति र विकासका लागि नेपाली जनता एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव डा सरोज पोखरेल र कृषि विभागका महानिर्देशक डा युवकध्वज जोशीले पनि कृषि क्षेत्रको दिगो विकासका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
यसैगरी प्रधानमन्त्री पुष्यकमल दाहालले आजै बनियानीस्थित धान–सुपर जोन कार्यक्रमको कार्यालय उद्घाटन गर्नुका साथै मेसिनबाट धान रोप्ने कामको पनि शुभारम्भ गर्नुभएको थियो ।

झापाको पूर्वी दक्षिणी गाविस बालवाडी, बनियानी, पाठामारी, पृथ्वीनगर, केचना र पथरिया गाविसमा जम्मा एक हजार हेक्टर जग्गाका लागि सुपरजोन कार्यक्रम यसै वर्षदेखि सुरु भएको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया