तपाईको कूलमै जन्मेको हुनाले ढोग प्रणाम भनेर पत्रको सिलसिला अघि बढाउन चाहेको थिएँ तर भू. पू. कम्युनिस्ट भएकाले यो ढोग सोग पनि बुर्जुवा र सामन्तहरुको चाकरी भन्नु हुन्छ होला भन्ने ठानेँ । लाल सलाम, अभिभावादन गर्न पनि कता कता अप्ठेरो लाग्यो, हाय हेल्लो त म कसरी गर्न सक्थेँ र तपाई मेरो काकाको उमेरको मान्छे, बिदेशमा बसेपनि कट्टर नेपाली बनेर नेपालकै अहोरात्र चिन्ता गर्ने मान्छे म ।अमेरिकामा नयाँ बर्षको रौनक़ चलिरहेको थियो, अंग्रेज़ी नयाँ बर्ष २०१७ को स्वागतमा मध्यरात पछि झन् धेरै अमेरिकीहरु सडकमा निस्किएका थिए, पूरा शहर दुलही जस्तै सिंगारिएको थियो तर मलाई चाहिँ नयाँ बर्ष भन्दा पनि आफ्नै देशमा केही बर्ष देखि चलनमा आएको टोपी दिवसकै रौनकले छोएको थियो । राति बेला बेला जाग्दै फेसबुक, ट्वीटर हेर्दा यस्तो लाग्थ्यो देश बिदेशको पूरै नेपाली समाज टोपीमय बनेछ, नेपालीको सान, नेपालीको मान र देशलाई चिनाउने नेपाली टोपीको ईज्जत बढेछ भनेर खुशीले गद्गद भएँ म । कतै कतै त मित्रहरुले धोती दिवस पनि मनाउनु भएछ, मलाई औधि खुशी लाग्यो । टोपी धोती सबै नेपालकै पोशाक हुन् , सोचेँ नेपालका हरेक पोशाक दिवस मनाए झन राम्रो ।
मैले असाध्यै श्रद्दा गर्ने मान्छे तपाई, ब्यक्तिगत चिनजान नभएर के भो हामी त एउटै बंशको । त्यसभन्दा पनि माथि नेपालको बिकासमा सधैभरि चिन्तित मान्छे तपाईं , देशमा पर्रिवर्तन चाहने मान्छे तपाईँ, कसैले तपाईलाई प्रशंसा गर्दा मेरै प्रशंसा गरेजस्तै हुन्छ, तपाईका बिकास र समृद्दिका कुरा सुन्दा मलाई आनन्द आउँछ । त्यसैले मैले जनयुद्द समयले निम्त्याएको आवश्यकता थियो भनेर चित्त बुझाएको थिएँ , तपाईलाई पटक पटक खुलापत्र र लेखहरु लेखेर प्रशंसा र खबरदारी दुबै गरेको थिएँ । तपाईलाई खुट्टा नकमाउनुस बाटो फराकिलो छ भन्ने पनि मै हूँ ।
तर काका , कसैले तपाईको बिरोध गर्दा पनि मान्छेले मेरै बिरोध गरेको जस्तो लागेर प्रतिवाद गर्ने मान्छे म अचेल तपाईको साँगुरो सोचाई देखेर हैरान भएको छु । तपाईका सहयोद्दा प्रचण्डले दशैँमा टीका बहिष्कार गर्दा तपाईले चौरासी बर्षका बुवाको हातबाट टीका थाप्दा, तिहारमा बहिनीको हातबाट सप्तरंगी टीका लगाउँदै गर्दा तपाई प्रति जागेको सद्भाव र बिश्वाश अनि अरु धर्म र समुदायलाई पनि माया गर्ने तपाईँ आज आकारमा सानो तर भावना र पहिचानमा बिशाल एउटा टोपीकै कारणले ह्वात्तै घटेको छ । आशा छ यसको खण्डन गर्नु हुनेछ ।
हो काका , तपाईलाई लाग्दो हो दौरा सुरुवाल लगाउनेले देश बिगारेका हुन्, टोपी लगाउनेले देश बिगारेका हुन् । जानेर भन्नु भएको हो या कोही कसैको निगाह पाउन भन्नु भएको हो ? तर तपाईँले भने जस्तै तपाईका बुबा र हाम्रा बाले देश बिगारेका हुँदै होईनन् । यहाँ त धोती लगाउनेले पनि देश बिगारेका छन्, गेरु बस्त्र लगाउनेले पनि देश बिगारेका छन् , के बिदेशी कोट पाईन्ट र टाई लगाउनेले देश बिगारेका छैनन् र ? देश पोशाकले हैन शोषकले बिगारेका हुन् त्यसमा त्यो निर्जिव टोपीको के दोष । तिनीहरुले जे लुगा लगाएपनि नांगै हुनु सरह हो । देश बिगार्ने हरु कुनै जात होईन कुजात हुन् ।
प्यारा काका ,
संबिधानले फालेको दौरा सुरुवाल र टोपीले देश बिगारेकै हो भन्ने तर्क तपाई जस्तो बिद्वान मान्छेकै मुखबाट सुन्न पाउँदा बडो दुख लागेको छ । भाषा, भेष र धर्ममा भेद देखाएरै गरेको राजनीतिले देश थला परिरहँदा कोही त मोटाएका होलान तर यस्तै बेला नागरिकले स्वत:स्फूर्त रुपमा टोपी लगाएर आफ्नो सस्कृति झल्काउँदा तपाई जस्तो मान्छेले बरु मन नपरे चुप लागेर बसेको भए पनि त हुन्थ्यो नि ! भोलि कसैले बख्खु दिवस र धोती दिवस नै मनाए पनि नेपाल भित्रकै पहिचानको प्रचार त हुन्थ्यो नि ! यति धेरै शुभचिन्तकको चित्त दुखाएर कसलाई खुशी पार्न खोज्नु भएको हो र काका ?
काका , तपाईलाई थाहै छ अमेरिकी राजदूत टेप्लिजले कसैको डरले दशैको टीका थापेकी थिईनन्, अमेरिकी राष्ट्रपति बाराक ओबामाले कसैको करकापले हनुमानको मूर्ति पकेटमा राखेका हैनन्, भू. पू. ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरुनले कसैको लहलहैमा लक्ष्मीपूजा गरेका होईनन्, त्यो त हरेक धर्म प्रतिको सम्मान पो थियो , बिश्वाश पो थियो । मैले त कैयौ नेपाली मुसलमान मित्रहरुले पनि टोपी लगाएर हिडेको देखेको छु। मैले बिकसित देशका कोही नेताहरुले कुनै जात र धर्मको बिरोध गरेको सुनेको छैन ।
तर संबिधानले फालेको टोपीलाई माया गरेर स्वत:स्फूर्त लगाएर टोपी दिवस मनाउँदा किन फौजी कारवाहीमा आफ्ना सिपाही मारिएजस्तो गरी बोल्न हतार गर्नु भो ? तपाईकै दलका केही नेता, कार्यकर्ताहरुले पनि टोपी दिवस मनाएको देखियो । आज देश संघीयताका नाममा मधेस स्वतन्त्र हुन्छ भनेर खुलेयाम बोल्दा उनैलाई उक्साउने तपाई राष्ट्रिय एकताका लागि एउटा टोपी दिवस मनाउँदा किन त्राही त्राही हुनु भो ? के टोपी लगाउनेहरु आतंकवादी हुन् ? के टोपी लगाउनेहरु देश द्रोही हुन् ? के टोपी राष्ट्रघातको निशानी हो ? टोपी, धोती र बख्खु त हाम्रै बाबा, दाजु र दिदी बहिनीले लगाउने पोशाक त हुन् नि । तपाईले पनि भादगाउँले टोपी लगाएको देखेको छुँ, ढाका टोपी लगाएको देखेको छु मैले , हाम्रा बा हजुरबाले पनि टोपी लगाएकै हुनुहुन्छ त ! यो सानो टोपी भित्र कति घात प्रतिघात लुकेको देख्नु भो ?
प्यारा काका,
लेख्ने कुरा धेरै छन् काका, एउटै पत्रमा लेखेर सकिन्नन् । हिजो ९० प्रतिशतले सहमति गरेर ल्याएको संबिधानमा खोट देखाएर दशगजामा पुगेर बिरोध गरेको पनि ठिकै जस्तो लागेको थियो, सर्वहारा पार्टीका नेता कार्यकर्ता सुख सयलमा डुबेको देखेर बितृष्णा भई नयाँ शक्ति खोलेको पनि ठिकै लागेको थियो, तपाईको देश प्रतिको चिन्ता पनि ठिकै लागेको थियो तर तपाईँ जस्तो बिद्वान मान्छेले हाम्रा आफ्नै बा हजुर बा ले पहिला तातो चिसो छल्न र अहिले पहिचानका लागि लगाउने टोपीको यति बिघ्न बिरोध कस्तो स्वार्थका लागि गर्नु भो, मैले बुझ्न सकेको छैन । तपाईलाई तपाईका बिरोधीले लगाउने धेरै आरोपहरुलाई बल पुग्ने काम किन गर्नु भएको होला ?
प्रतिक्रिया