मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

अनुभूति: सबै सासुहरु दमनकारी हुँदैनन् !

इनेप्लिज २०७३ पुष १६ गते २२:३१ मा प्रकाशित

image1झण्डै एक महिना अघि अनलाईन पत्रिकाहरुमा “मैले किन सासुको खुट्टा किन ढोग्ने” भन्ने लेख पढेपछि हामी आधुनिकताको नाममा कता गईरहेका छौँ भन्ने चासो र चिन्ता साथ मलाई पनि केही लेख्न मन लाग्यो। बुहारीले सासुलाई र सासुले बुहारीलाई नराम्रो मात्रै देख्ने समाजमा  मेरी  आमा जो बुहारी लाई दमन हैन छोरीलाई जस्तै माया गर्नुहुन्छ र उहाँका बुहारीहरु उहाँलाई आफ्नै आमा सरह माया गर्छन् भन्ने  बारेमा लेख्दा कसैका लागि सकारात्मक सन्देश बन्नेछ र सबै सासु र बुहारीको सम्बन्ध खराब नै हुन्छ भन्ने छैन भन्ने उदाहरणको काम गर्छ भन्ने ठानेको छु ।

बा आमाले ईश्वरको वरदान भन्दै खुरु खुरु आठ वटा सन्तान जन्माउँदा मेरो नम्बर छैठौमा परेको थियो । पाँच वटी छोरी र तीन छोराकी मेरी आमाले कुनै औपचारिक शिक्षा पनि हासिल गर्नु भएको छैन, उहाँ कुनै धनी खान्दानकी छोरी पनि हुनुहुन्न ।  पुरुष प्रधान समाजकी मेरी आमा जान अन्जानमा समाजका धेरै तह र तप्काबाट हेपिएकी पक्कै हुनुहुन्थ्यो , पहाडमा दुई छाक राम्ररी खान नपुगेर बुवाले मधेस झर्ने निर्णय गर्ने बेला सम्म हामी सात भाइ बहिनी जन्मिसकेका थियौँ ।

हो , यो समाजमा पुरुषले अझै पनि धेरै कुरामा भेदभाव गर्छन्, महिलाले महिलालाई झन धेरै हेप्छन्, घरमा ससुरा भन्दा सासु कडा भन्ने यत्र तत्र सुनिन्छ तर सबै सासु कडा हुन्नन् भनेर उदाहरण देखाउन मेरै आमाको बारेमा लेख्दा मलाई गर्वको महसुस हुन्छ ।

मेरी आमा उमेरले सत्तरी बर्षकी हुनुहुन्छ, ठूलो दाजुको बिहे हुने ताका वहाँ झण्डै पचास बर्षको हाराहारीमा हुनुहुन्थ्यो । भाउजु पढे लेखेकी भएपनि आमाका हात गोडामा तेल लगाउन आउँदा केही बेरमै जाऊ भो सुत, तिमीलाई पनि थकाई लागेको होला भनेर आफ्ना गोडामा आफै तेल लगाएको मैले धेरैपल्ट देखेको थिएँ । बरु आमाले आफ्नो पालाको कुरा सुनाउनु हुन्थ्यो: त्यसबेला सासुलाई तेल घँस्ने बेला सासुले सुत् नभनेसम्म बुहारीले तेल घँसिरहनु पर्थ्यो रे !

यो उमेरमा पनि आमाले  भान्साको काममा बुहारीहरुलाई सघाउनुहुन्छ अझै पनि , आफ्नो लुगा आफै धुनुहुन्छ र आफूले गर्ने काम बुहारीहरु लाई कहिल्यै छाड्नु हुन्न । यसो गरेको देख्दा पहिले पहिले छिमेकीहरु ईर्ष्याले जल्थे । तर बुहारीलाई कामले हैन मायाले आफ्नो बनाउन सकिन्छ भन्ने आत्मविश्वास उहाँमा थियो र अझै पनि छ ।

                          लेखक: सरगम भट्टराई

 

SARGAM

ए पंडितनी ! बुहारीहरुलाई टाउकोमा चढाएर नराख है पछि थाहा पाउली ! खुब बुहारीलाई तिमी तिमी भनेर नफुर्क्याऊ भन्दै आमालाई उचाल्नेलाई आमाले जवाफ दिनुहुन्थ्यो: “बुहारीहरु  पनि मेरी छोरीहरु जस्तै त हुन् नि !आमा ,बुवा ,दाजु, भाइ सबै त्यागेर हाम्रै घरमा हाम्रै सेवा गर्न आएकी छिन् । म कसरी छोरी र बुहारीमा भेद देख्न सक्छु ? मेरा पनि पाँच वटी छोरी छन् । मैले राम्रो गरे पो भोलि मेरी छोरीलाई पनि राम्रो गर्लान् । हामीले हाम्रा पालामा पाएको दुख यी बच्चीहरुलाई किन दिनू।” बरु तिमी पनि बुहारीलाई राम्रो गर भन्नु हुन्थ्यो मेरी आमा ।

समयले फन्को लगाईरह्यो, गाउँघरमा हिजो बुहारी दबाएर खानेहरु आजभोलि बुढेसकालमा बुहारी संगकै नमिठो अतितले एक्लै चुल्हो बाल्नुपर्दा मेरी आमाकै  महानताको कुरा गर्छन् ।

अझै पनि माईत आउँदा घरको कुरा काट्नेहरुलाई आमाले सल्लाह  दिनुहुन्छ: मिलेर बसेको जस्तो राम्रो केही हुन्न । आफ्नै घरको कुरा काटेर आफ्नै बदनाम हुन्छ, शत्रु हाँस्छन्, तिमीहरुका भाउजुहरुले हामीलाई राम्रो गरेको देख्न चाहन्छौ भने तिमीहरुले आफ्ना सासु ससुरालाई पनि राम्रो गर्नुपर्छ । भोलि आफ्नो घर र घरका मान्छे काम नलागेर पराई काम लाग्ने होईनन् क्यारे !”

हाम्रो समाजमा अझै पनि सासु बुहारी एक अर्काको प्रतिद्वन्द्वी जस्ता देखिदा हाम्री आमा फुर्सदको बेलामा बुहारी संग गफिएको, संग संगै काम गरेको र मायाले बुहारीहरुको कपाल मुसारेको देख्दा यस्तो लाग्छ: हाम्री आमाले त्यो बेला पढ्न पाएको भए यो देश र राजनीतिलाई अहिले नेतृत्व दिनु हुन्थ्यो होला ।

आमाका सकारात्मक कुरा र ब्यवहारले गर्दा भाउजुहरुले कहिल्यै आमाको कुरा काटेको सुनिएन, बिहान सबै भन्दा पहिले आमा उठेर घरको आधा काम गर्ने बेला सम्म कहिलेकाहीँ भाउजुहरु सुतिरहँदा पनि आमाले आँखा तर्नु भएन बरु उहाँ भन्नु हुन्थ्यो: “यो उमेरमा धेरै निद्रा लाग्छ नि, मेरो बिहे भएर आउँदा म १२ बर्षकी थिएँ, सासुले बिहान तीन बजे उठेर मकै कोदो पिस्न अह्याउनु हुन्थ्यो, कहिलेकाहीँ त आत्महत्या गरूँ जस्तो लाग्थ्यो ।”

मलाई सम्झना छ : सासुहरुले बुहारीलाई पैतालाको धुलो बनाउन खोज्ने यही समाजमा मेरी श्रीमती  दुई जीउँकी भएकी बेला कतैबाट आउँदा सकी नसकी आमालाई निहुरेर खुट्टामा ढोग्न लाग्दा हतार हतार हात दिएर यस्तो बेला कति गाह्रो हुन्छ भन्ने मलाई थाहा छ, निहुरिनु हुन्न भन्दा मेरी श्रीमतीले हाँस्दै भनेकी थिईन्: आमा, मैले एक चोटी कष्ट गरेरै निहुरेर ढोग्दैमा हजुरको आशिर्वाद पाएँ भने मेरो यो पीडा त्यसै कम हुन्छ नि ! सँस्कार पनि त भुल्नु भएन नि !”

मलाई सम्झना छ: मैले सात बर्ष अघि बिहे गर्दा मेरी श्रीमती प्राप्ती असाध्यै दुब्ली पातली थिईन्, त्यस्तै ३५- ३६ के.जी. मात्र ।  गाउँ घरमा त्यति बेला हठ्ठा कठ्ठा र खाईलाग्दो मान्छे मात्र स्वस्थ्य हुन्छ भन्ने थियो । आमाले बुहारी दुब्ली भई भनेर हत्तपत्त आफूले नखाँदै तिमीले यति चाहिँ जसरी पनि खानुपर्छ, अब मोटाउनु पर्छ है भनेर उनलाई नखुवाई खानु हुन्नथ्यो । पछि पछि त हामी घर परिवार सबै एकै पटक खान थाल्यौँ ।

आमा केही कुरामा भने कडा हुनुहुन्थ्यो । पूजा पाठ र व्रत नगरेको उहाँलाई मन पर्दैनथ्यो । कहिले काहीँ बिहानै नुहाई धुवाई गरेर पूजा सकेर टीका र प्रसाद लगाउने बेला बुहारीहरु आंग तान्दै उठ्दा लाजले भुतुक्क हुन्थे । छोरी बुहारीहरु नछुने भएको बेला लत्ता कपडा र भाँडा कुँडा छोई छुई गरेको मन पराउनु हुन्नथ्यो तर बुवा पुरानै संस्कार र पुरेत्याई गरेपनि उदार हुनुहुन्थ्यो । आमालाई नटेरेर बाक्लो लुगा दिनुहुन्थ्यो । पछि बरु सक्ने भएपछि धुने तर चिसोमा सुत्नु हुन्न भन्नुहुन्थ्यो बुवा । आमाको ज़िद्दी बिस्तारै कम भएको छ अचेल त्यस्तो साह्रो कड़ाई गर्नुहुन्न ।

मेरी आमा पनि यही समाजमा हुर्किनु भयो, महिला भएको आधारमा धेरै पल्ट हेपिनु भयो होला तर आफ्नो हेपाईको बदला मेरी श्रीमती र भाउजुहरुलाई लिनु भएन । आमा माईत जाँदा बुहारीहरु अँध्यारो मुख लगाएर धेरै दिन नबस्नू है भनेको देख्दा छिमेकीहरु ईर्ष्याले जलिरहेका हुन्थे । यद्दपी मेरी आमाले कुनै संघ संस्थाले दिने महिला अधिकारका तालिम र गोष्ठी लिनु भएको छैन ।

आमाको मन न हो,सन्तानको माया धेरै हुन्छ रे: त्यसैले कान्छी छोरी ईशा र म कान्छो छोरो लाई भेट्न आमा केही महिना अघि अमेरिका आउनु भयो, हामीले आमालाई अमेरिकाको झिलीमिली देखायौँ, यहाँको प्रबिधी र उन्नति देखायौँ । कहिल्यै बिजुली नजाने, जता हेर्यो चिल्ला सडकहरु, बन्द हड़तालले सास्ती नहुने, सुन्दा परीको कथा जस्तै लाग्ने बिज्ञानको चमत्कार देख्दा आमालाई लाग्यो: साँच्चैको स्वर्ग त मान्छेले पो बनाउने रहेछ । आमाले अमेरिका जस्तै सुन्दर नेपालको परिकल्पना गर्नु भो ।

दुई चार दिनको घुमाई पछि आमाका स्मृर्तिमा  आफ्नै गाउँघर मात्र आउन थाले, आमालाई अमेरिकाको बसाई निरस र उराठ लाग्न थाल्यो । भाषा, जीवनशैली र मान्छेको आ-आफ्नै धून आमालाई मन पर्न छोड्यो । त्यो भन्दा पनि मेरी बुहारी यसपाली तीजमा माईत जान पाईन, दुई दुई वटा भैँसी र बिरामी बुवा र केटाकेटी स्याहार्न कति दुख भयो होला भन्दै पिल पिल गर्नु भयो, देवी भाउजु संग फोनमा कुरा गर्दा सुँक्क सुक्क गर्नु भयो ।

अन्तमा ६ महिना छोरा छोरी संग अमेरिका बस्न कँस्सिएर आएकी मेरी आमा साढे तीन महिनामै नेपाल फर्किन ढिपी गर्नु भयो जसको मूख्य कारण मेरी बुहारीले सबै काम एक्लै गर्दा दुख पाई होली भन्ने थियो । आमा भन्दै हुनुहुन्थ्यो: ” म गए पछि बुहारीलाई अलि दिन बस्ने गरी माईत पठाउँछु।”

जे होस् मेरी आमाले छोरीहरुलाई भन्दा पनि माया गरेर बुहारीहरुको मन जित्नु भएको छ, उहाँ भन्नुहुन्छ: सबैले बुहारीलाई मैले जस्तै माया गरे यो बूढी यस्ती र उस्ती भन्ने सुन्नुपर्दैन, म अप्ठेरी सासु बनेर बस्दिन, भोलि म अशक्त हुँदा मलाई हेर्ने यीनै बुहारीहरु हुन् ।”

त्यसैले बुहारी हरुका साथी, संगी र माईतीमा उहाँको कुरा काटिन्न बरु प्रशंसा गरिन्छ । निरक्षर जस्तै भएर पनि मान्छेमा भएको सामान्य विवेक प्रयोग गरेर पनि मेरी आमा बुहारीकी मात्र हैन समाजकै प्रिय हुनुहुन्छ, सुगरले थलिएकी मेरी सत्तरी बर्षकी मेरी आमा अझै पनि बिहान देखि साँझ सम्म सकेको काम गर्नुहुन्छ ।

बुहारीले सासुलाई ढोग्नु भनेको हाम्रो सँस्कार हो, कसैले जवर्जस्ती मलाई ढोग् भनेर यातना नै दिन्छ भने त त्यसलाई कुसँस्कार मानिएला तर आफ्नो आमा सरहकी सासुलाई ढोग्नु भनेको उहाँबाट ईश्वरीय आशिर्वाद लिनु हो, सौभाग्य माग्नु हो, यसलाई दमन र महिला हिंसा मात्र भनेर परिभाषित मात्र गरे हाम्रो सँस्कार कता जाला ? भोलि हामीले आफ्नो सँस्कार खोज्न कता जाउँला ? अमेरिका वेलायत जस्तो सासुलाई मिसेज फलानी भनेर बनावटी बोल्दै अंगालो हालेर चेपारो पार्दैमा महिला हिंसा कम भएको कसरी मान्नु र ?

हाम्रो समाजमा पुरुषबाट भन्दा बढि महिलाबाटै महिला हेपिएको सन्दर्भमा कमसेकम सबैले मेरी आमाका केही राम्रा कुरा मात्र सिक्ने हो भने पनि समाजमा सासु बुहारीको संबन्ध सुमधुर हुन बेर लाग्ने छैन कि ? आधुनिकताको नाममा जे पनि नकारात्मक टिप्पणी गर्नु भन्दा संस्कारका राम्रा पक्षलाई सधैभरि उथ्थान पो गरे पो आफ्नो मौलिकता बचाउन सकिन्छ ।

    Twitter: sargampraptee

प्रतिक्रिया