जीउमा शिव चढेको विषयमा प्रशासनको ध्यानाकर्षणका लागि स्थानीयको आग्रह

इनेप्लिज २०७३ पुष १४ गते २३:४३ मा प्रकाशित

20161229_094446

रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको जीउमा शिवजी चढेको चर्चाले व्यापकता पाउन थालेको छ । सखुअवा धमौरा गाविस वार्ड नम्बर ६ सिसवा टोलकी २४ वर्षकी प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ । वेलावेलामा निधार, घाँटी, बाहुली, हात र खुटामा त्रिशुल, चन्दन, सर्प, डमरु, रुद्राक्ष, माला लगायतको कालो रंगको आकृति देखिने गरेको भन्दै स्थानीयले महिलाको पूजापाठसमेत गर्न थालेका छन् । आसपासका विभिन्न गाउँबाट हेर्न आउने मानिसको घुइँचो बढ्न थालेपछि माइती बडहर्वा वार्ड नम्बर २ बाट पिता विनोद दाससमेत व्यवस्थापनका लागि आइपुगेका छन् । गत ११ दिनदेखि गाउँमा राजेश दासकी श्रीमती प्रियंकादेवी दासको जीउमा शिवसँग विभिन्न आकृति आइरहेको र स्थानीयले भजन कीर्तन गरिरहेको विषयमा सत्यतथ्य बुझेर वास्तविकता बाहिर ल्याउनका लागि सम्बन्धित निकायसित नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य एवं स्थानीयबासी राजकुमार दास तत्माले ध्यानाकर्षण गराएका छन् ।

जीउमा शिवसँग सम्बन्धित विभिन्न आकृतिहरु आइरहेको खबरले टाढाटाढाबाट आफन्त र पाहुनाहरु आउने क्रम बढेको र गाउँमा माछामासु निषेध गरिएको पनि तत्माले बताएका छन् । दिनहुँ सैयौँजना हेर्न जाने र पूजापाठ गर्ने भएकोले मानिसको घुइँचो बढेको हो । शिवजी जीउमा आउने भनिएको महिलाले शिवको मन्दिर निर्माणको लागि इच्छा व्यक्त गरेकीले आज उनकै जग्गामा मन्दिर निर्माणको काम पनि परिवार र आफन्तजनले थालेको स्थानीय समाजसेवी लालबाबु साहले बताएका छन् ।

प्रतिक्रिया